हेटौंडामा २५ मिटर सडक विस्तार कहिले हुन्छ ?
बलराम पुडासैनी
मकवानपुर ६ मसिंर । पूर्वपश्चिम लोकमार्ग तथा त्रिभुवन राजपथमा पर्ने सडक विस्तारको कार्यमा अहिले डिभिजन सडक कार्यालयले चासो देखाएको छ । हेटौंडा राप्तीपुल पारी २५ मिटर सडक सरसफाई तथा प्रयोगको अभियान संचालन भईसकेको डिभिजन सडक कार्यालय मकवानपुरले जनाएको छ । बर्षौदेखि प्रयोगमा नआएको खाली जग्गालाई प्रयोगमा ल्याई सडक विस्तारको कार्य शुरु गरि सडकको रुपमा प्रयोगमा ल्याउन खोजिएको कार्यालयको जानकारी छ ।
डिभिजन सडक कार्यालय मकवानपुरका सुचना अधिकारी जयराम अधिकारीका अनुसार अहिले योजनाको रुपमा भन्दा पनि राजमार्गमा रहेका अवरोध हटाई सडक फराकिलो पार्ने काम भईरहेको छ । अहिले राप्ती पुलपारी सडक विस्तारको कामले तीव्रगती लिनसकेपनि पुल यताभने मानव वस्तीको कारण असहज भएको हो । २५ मिटर क्षेत्रभित्रका घरधनीहरुले अदालतमा मुद्धा दर्ता गरेका छन् । सो मुद्धाको फैशला अदालतले नगरुन्जेल केहि गर्न नमिल्ने भन्दै डिभिजन सडक कार्यालय मकवानपुर अहिले अदालतको आदेश कुरेर बसेको छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशनको कार्यान्वयन खै ?
हेटौंडालाई ‘ हाम्रो हेटौंडा राम्रो हेटौंडा’ को रुपमा विकास गराउन सडक विस्तार आवश्यक देखिएको बुद्धिजिविहरु बताउँछन् । राप्ती पुल पारीसम्म ३ लेनको सडक बन्दै गरेपनि हेटौंडा बजारभित्रको सडक विस्तार हुन नसक्दा बजार क्षेत्र गल्ली जस्तै देखिन थालेको छ । त्यसोत हेटौंडालाई सुन्दर बनाउन सडक विस्तार गर्नुपर्ने भन्दै हेटौंडा उपमहानगरपालिकाले प्रधानमन्त्रीको कार्यालयलाई सडक विस्तारको लागि अनुरोध गर्दै निवेदन समेत गरेको थियो । सो निवेदन उपर प्रधानमन्त्रीको कार्यालयले भौतिक योजना तथा यातायात मन्त्रालयलाई सडक विस्तारको लागि निर्देशन समेत दिएको थियो ।
सडक विस्तार प्रकरणमा प्रदेश सरकारनै बाधक
सडक विस्तार रोक्न ३ नम्बर प्रदेश सरकारनै सकारात्मक रहेको बुझिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलनै सडक विस्तारको योजना बिफल पार्न सक्रिए छन् । प्रदेश सरकारका भौतिक तथा पूर्वाधार विकासमन्त्री केशव स्थापित बर्खास्त भएपछि अहिले मुख्यमन्त्री पौडेल आफैंले सो मन्त्रालयको कार्याभार संहालेका छन् । प्रदेश सरकारका पूर्वमन्त्री स्थापितले १ सय दिनमा हेटौंडाको सडक फराकिलो पार्ने योजना तयार पारेका थिए । तर मुख्यमन्त्री पौडेल आफैंले कार्याभार संहालेपछि सडक विस्तारको विषयमा प्र्रदेश सरकारले अहिले कुनै योजना ल्याएको छैन् ।
प्रदेश सरकारका मुख्यमन्त्री पौडेलकै घर सडक विस्तारका क्रममा भत्कने देखिएकोले मुख्यमन्त्री पौडेल सडक विस्तारको बाधक बनेको हेटौंडावासीको आरोप छ ।
अदालतको आदेशबिना सडक विस्तार गर्न मिल्दैन
सरकारले आफुहरुसंग लालपुर्जा हुँदाहुँदै पनि मुआब्जा नदिई जग्गा र सोही जग्गामा बनेको घर भत्काई सडक विस्तार गर्न लागेको भन्दै २५ मिटर सडक क्षेत्रभित्र पर्ने घरधनीहरुले अदालतमा मुद्धा दर्ता गरेका छन् । उक्त मुद्धा अहिले अदालतमा चलिरहेको छ । अदालतको आदेश विपरित सडक विस्तार गर्न नमिल्ने डिभिजन सडक कार्यालयको भनाई छ ।
सडक विस्तार गर्न हेटौंडावासीको माग
२५ मिटर सडक विस्तार गर्न हेटौंडावासीले माग गरेका छन् । हेटौंडावासीमात्रै नभई २५ मिटर क्षेत्रभित्र पर्ने केहि घरधनी तथा व्यवसायीहरुले समेत सडक विस्तार गर्नुपर्ने कुरामा आफुहरु सकारात्मक रहेको बताएका छन् । उनीहरुका अनुसार सडक विस्तारको विषयका कारण आफुहरुलाई निकैनै दोधारको अवस्था शिर्जना भएकोले चाँडैनै सडक विस्तार हुने वा नहुने टुङ्गो लाग्नुपर्ने उनीहरुको माग छ ।
तत्कालिन क्षेत्रिय प्रशासक विनोद केसीको पहलमा हेटौंडामा सडक विस्तारको कार्य सुरु भईसकेको थियो । सरकारी संरचनाहरु केहि भत्काईएको समेत छ ।
