काँग्रेसको चियापान कार्यक्रम दिउँसो १ बजेदेखि सुरु
काठमाडौँ, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा आज दिउँसो १ बजेदेखि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।
हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण आज गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
चियापानमा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । आजै केन्द्रीय कार्यालयसहित ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरिने पनि जनाएको छ ।
चियापान आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजना हुँदैछ ।
