मन्त्री केशव स्थापितलाई हटाउने तयारी, के भन्छन् प्रधानमन्त्री केपी ओली ?

तु खबर संवाददाता
२०७५ कार्तिक १६, शुक्रबार ०८:५९

हेटौँडा, १६ कात्तिक । प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्रीलाई अपशब्द प्रयोग गरेको आरोप लागेको छ । अपशब्द प्रयोग गरेपछि उनलाई मन्त्री पदबाट हटाउन मुख्यमन्त्री डोरमणि पौडेले पार्टी नेतृत्वसँग छलफल गर्न बिहीबार काठमाडौं पुगेका छन् । हेटौँडाबाट सुदिप सिवाकोटीले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा बुधबार भएको बैठकमा स्थापितले मुख्यमन्त्री पौडेललाई अपशब्द प्रयोग गरेका थिए । बैठकमा उनीहरुबीच चकाचर्की परेको जनाइएकाे छ । स्थापितले अपशब्द प्रयोग गर्दै टेबुल ठोकेर अभद्र व्यवहार गरेको मुख्यमन्त्रीका निजी सचिव अनुप पौडेलले बताए ।

दुई जना महिलालाई यौन दुर्व्यवहार गरेको आरोप खेपिरहेका स्थापितले बैठकमा नै अभद्र व्यवहार गरेपछि पद संकटमा परेको हो । समाजिक सञ्जालमा चलेको ‘मि टू’ अभियानमा काठमाडौं महानगरपालिकाकी पूर्व कर्मचारीले स्थापितमाथि यौन दुर्व्यहारको आरोप लगाएकी हुन् । निजी सचिव पौडेलका अनुसार अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेपछि मुख्यामन्त्रीले स्थापितलार्इ पदबाट हटाउने विषयमा पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं गएकाे बताए । उनले भने, ‘मुख्यमन्त्री ज्यू, मन्त्री स्थापितलाई पदबाट हटाउने निर्णयमा पुग्नु भएको छ, छलफल गरेर निर्णय लिने तयारीमा हुनुहुन्छ ।’

मुख्यमन्त्रीले मन्त्रीसँगको छलफलमा स्थापितसँग काम गर्न नसकिने भन्दै हटाउन पार्टीका नेतासँग छलफल गर्ने बताएका थिए । उनले स्थापितलाई हटाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गर्ने निश्चित भएको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली तयार भएमा नेकपाको सिफारिसमा स्थापित पदमुक्त हुने निजी सचिव पौडेलले बताए ।

अपशब्द हैन ठुलो स्वर गरेकाे हुँ : स्थापित

मन्त्री स्थापितले बैठकमा मुख्यमन्त्री र आफूबीच चर्काचर्की भएपछि ठुलो स्वर गरेको बताए पनि अपशब्द नबाेलेकाे दाबी गरेका छन् । उनले आफ्नो स्वर नै प्राकृतिक रुपमा ठुलो भएको बताउँदै अहिलेसम्म अपशब्द प्रयोग नगरेको प्रतिक्रिया दिए ।

प्रदेशलार्इ विकास गर्ने सवालमा मुख्यमन्त्रीले मन्त्रालयको गति सुस्त भएको आरोप लगाएपछि सबै काम प्रक्रिया पूरा गरेपछि मात्रै हुने जवाफ दिएको बताए । ‘मुख्यमन्त्रीले गति सुस्त भएको भनेपछि मैले विकासको काम अघि बढाउन बजेट निर्माणदेखि टेण्डरसम्मका प्रक्रिया हुने भएकाले बच्चाले भाँडाकुटी खेले जस्तो नहुने भनेको हुँ,’ उनले भने, ‘मैले ठुलो स्वरमा बोलेको मात्रै हो, यसलाई पारिवारिक झगडामा बुझ्दा हुन्छ ।’

मुख्यमन्त्रीले आफूलाई पदबाट हटाउने हल्ला मात्रै भएको स्थापिले दाबी गरे । ‘उहाँले मलाई हटाउने भनेको होइन्, बुधबारको मन्त्रिपरिषद बैठकमा केही चर्काचर्की भएको मात्र हो ।’ उनले आफ्नो मन्त्रालयको कुनै काम टेण्डरबिना गर्नै नसकिने भएकाले प्रक्रिया पूरा नगरी अघि बढ्न नमिल्ने अवगत गराएको दाबी गरे ।
श्रोत–नयाँ पत्रिका दैनिक