भुकम्प पिडीतलाई घुस माग्ने थाहा नगरका प्राविधिक रङ्गेहात पक्राउ
मकवानपुर, २३ साउन । भूकम्प पिडीतको घर निर्माण गर्दा निरीक्षण गरेको भन्दै मकवानपुरको थाहानगरपालिकाका एक भूकम्प पिडीतसँग घुस माग्ने प्राविधिक बुधबार रङ्गेहात पक्राउ परेका छन् ।
बुधबार दिउँसो करिब १२ः४५ बजेको समयमा थाहा नगरपालिकामा भवन तथा प्राविधिक निर्माण शाखामा कार्यरत सब इन्जिनियर कमलराज न्यौपानेलाई घुस पक्राउ गरिएको थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले पुष्टि गरेका छन् ।
थाहा नगरपालिका वडा नम्बर २ अंगारे बस्ने भुकम्प पिडीत मिनप्रसाद ढकालसंग भुकम्पले भत्काएको घर पुननिर्माण गरेको र नयाँ घर बनाएको निरिक्षण गरेको भन्दै न्यौपानेले घुस मागेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले वडा नम्बर ३ को कार्यालयको शौचालयमा नगद २ हजार लिँदालिँदै पक्राउ गरेको हो ।
सव–इन्जिनियर न्यौपाने कालिकोट जिल्लाको रासीकोट नगरपालिका १ का स्थायी वासिन्दा भएको बताइएको छ । उनलाई इलाका प्रहरी कार्यालय पालुङले नियन्त्रणमा राखेको छ ।
