सिरियामा शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रसंघ प्रमुखको आग्रह

गिरिजा अधिकारी
२०७४ फाल्गुन १५, मंगलवार ११:२९

जेनेभा, १५ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुथ्रेसले द्वन्द्वसँग जोडिएका सवै दलहरूलाई शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । उहाँले सोमबारको एक वक्तव्यमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको तीस दिने युद्धविरामसहितको प्रस्ताव कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो ।

“उनीहरूले सुरक्षा परिषद्को शान्ति प्रस्ताव प्रभावकारी रूपले कार्यान्वयन गरे मात्रै यसको अर्थ हुन्छ,” गुथ्रेसले वक्तव्यमा भन्नुभएको छ । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ३७औ बैठकको उद्घाटन समारोहमा महासचिव गुथ्रेसले भन्नुभयो, “पृथ्वीमा यो नरक जस्तो बनाउने कार्य अहिले तत्काल रोक्नु अत्यावश्यक छ, गुटाले यसका लागि थप प्रतिक्षा गर्न सक्दैन ।”

“त्यो शान्ति प्रस्ताव तत्काल कार्यान्वयन हुन्छ भन्ने मैले अपेक्षा गरेको छु, प्रभावित क्षेत्रमा मानवीय सहायता अत्यावश्यक छ, विरामी र घाइतेहरुलाई उद्धार गरी सहयोग गर्नु पर्दछ,” उहाँले थप्नुभयो । उहाँले मानवीयता, मानवअधिकारसम्बन्धी कानून र आम नागरिकको रक्षा गर्न र आफ्नो प्रतिवद्धता र दायित्व नभुल्न सवै पक्षको ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

प्रस्ताव २४०१लाई राष्ट्रसंघीय सुरक्षा परिषद्ले गत शनिबार सर्वसम्मत रूपमा पारित गरेको थियो । झण्डै दुई हप्तासम्मको वार्ताको प्रयासपछि परिषद्ले तीस दिने युद्धविराम गर्न आग्रह सहितको प्रस्ताव पारित गरेको हो । मुख्य गरेर सिरियाको गुटामा अहिले हिंसाका घटना धेरै भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*