हेटौँडामा २५ मिटर सडक बिस्तार हुने मन्त्री स्थापितको दाबी
मकवानपुर, ७ फागुन । लामो समयदेखि विभिन्न कारणले रोकिएको २५ मिटर सडक बिस्तार भईछाड्ने प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले दाबी गरेका छन् । उनले हेटौँडाबाट कसैलाई पनि विस्थापित नहुने गरि २५ मिटर विस्तारको काम हुने बताएका हुन् ।
मकवानपुर उद्योग बाणिज्य संघले सोमबार भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितसंग मकवानपुरको विकासबारे गरेको छलफलका क्रममा मन्त्री स्थापितले २५ मिटर सडक विस्तारका क्रममा कोही पनि विस्थापित नहुने गरी काम अघि बढाउने बताएका हुन् । सडक विस्तारबारे एक सय दिनभित्र निष्कर्षसहित प्रदेश सरकारले आफ्नो धारणा बनाउने स्थापितले बताए ।
उनले अबको ३ बर्ष भित्र हेटौँडालाई देशकै नमूना शहरको रुपमा विकास गर्ने अठोट व्यक्त समेत गरेका छन् । कार्यक्रममा संघका अध्यक्ष कृष्ण कटुवाल, निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेसहित संघका कार्यसमिति, उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो ।
