भारतीय च्यानलका शोसम्म पुगेका मकवानपुरका सरोज छमछमीको विजेता

तु खबर संवाददाता
२०७४ फाल्गुन ४, शुक्रबार १४:१५

मकवानपुर, ४ फागुन । आकर्षक नृत्यकला भएका मनहरी–७ निवासी सरोज प्रजा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको रियो छमछमीको तेस्रो संस्करणको विजेता बनेका छन् ।

घोषित नतिजाअनुसार उनले २ लाख ७४ हजार ७ सय ७४ एसएमएस प्राप्त गरेर विजेता बनेका हुन् । उनले डाट्सन रेडी गो कार पुरस्कार पाएका छन् । देशभरबाट १२ हजार नृत्यकारहरुको प्रतिस्पर्धाबाट उनी विजेता बनेका हुन् । नेपाल टेलिभिजनबाट बुधवार राति प्रसारण हुँदै आएको कार्यक्रममा उनी विजेता बनेका हुन् ।

सानैदेखि नृत्य कुशलता देखाउँदै आएका सरोज मनहरीका विभिन्न सार्वजनिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै आएका छन् । उनले भारतीय च्यानलको डान्स शोहरुमा पनि यसअघि भाग लिएका थिए । उनी मनहरीस्थित आस्था कला केन्द्रमा आवद्ध रही नृत्य गरिरहेका छन् । मोबाइल भोटिङमार्फत् उत्कृष्ट छनोट हुने भएकाले उनलाई जतिसक्दो धेरै मोबाइल भोटिङ गर्न उनका सहकर्मी लागेका थिए ।

केन्द्रको पहलमा उनलाई मोबाइल भोटिङका लागि आर्थिक संकलन गरिएको थियो । आर्थिक संकलन गरी अधिकतम भोट गर्न केन्द्रले अभियान सञ्चालन गरेको केन्द्र सञ्चाल मनिष लामाले बताए ।

प्रतियोगितामा धरानकी मनिता राई फस्ट रनर अप बनेकी छन् । उनले २ लाख १ हजार ४ सय १७ मत ल्याएकी थिइन् । राईले ५ लाख रुपियाँ बराबरको एलजी होम अपलायन्सेस पाएकी छन् । सुर्खेतका शेखर घर्तीमगर सेकेण्ड रनर अप बनेका छन् । ९३ हजार ८ सय ३० एसएमएस पाएका उनले पुरस्कारस्वरुप ३ लाख बराबरको एलजी होम अपलायन्सेस पुरस्कार पाएका छन् ।

प्रतियोगितामा दुई हप्ताअगाडि उत्कृष्ट पाँच जना छनोट भएका थिए । उनीहरुले आफ्नो प्रस्तुतिको आधारमा दुई हप्तासम्म पाएको मतको आधारमा विजेता छनोट गरिएको हो । टप फाइभमा परेका रामेछापकी रविता मगरले चौथो बनिन् भने धरानकी केविका खत्री पाँचौ बनिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*