मकवानपुरगढीका विद्यार्थीलाई स्कूल ब्याग, कृषकलाई अभिमुखीकरण
मकवानपुरगढी, ३ फागुन । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित ईश्वरी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई बिहीबार स्कूल ब्याग वितरण गरिएको छ ।
फ्रेब्रुअरी महिनालाई आयो नुनको महिनाका रुपमा मनाउने क्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हेटौंडाले विद्यालयका सबै विद्यार्थीहरुलाई दुई बालबालिका चिन्ह भएको स्कुल ब्याग वितरण गरिएको शाखा प्रवन्धक शैलेश पाण्डेले जानकारी दिए ।
कार्यक्रममा जनचेतनामूलक कार्यक्रम सहित पर्चा पम्प्लेट वितरण, आयोडिनको कमीबाट देखापर्ने विकृति, र त्यसको समाधानका लागि आयोडिनयुक्त धुलो नुनको महत्व विषयमा प्रशिक्षण समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सुनिल गौतमले आयोडिनको कमीले स्वास्थ्यमा पार्ने गम्भीर असरका बारेमा विद्यार्थीलाई अभिमुखिकरण गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद हुमगाई, शिक्षकहरु अमृतराज थापामगर, चण्डिका घिमिरे, होमकुमारी गौतम लगायतकाको उपस्थिति रहेको थियो ।
त्यस्तै मकवानपुर गढीकै वडा नं ६ को वागदलीमा कृषकहरुलाई गैर अनुदानित मल सम्वन्धी अभिमुखिकरण समेत शाखाले सम्पन्न गरेको छ । कार्यक्रममा शाखा मकवानपुरका प्रमुख शैलेश पाण्डे, शिव शंकर दास, र युवनाथ दंगाल लगायतकाको उपस्थिति रहेको थियो ।
