यसरी सुरु भयो गणपति तालिम
काठमाडौं, ३ फागुन । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सि.सं. २ गणपति (बटालियन कमाण्डर) तालिम संचालन भएको छ ।
उक्त तालिमको सोही प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले फागुन ३ गते एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले त्यसअवसरमा कुनैपनि जिम्मेवारी र कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्नका लागि तालिम एउटा महत्वपूर्ण कडीको रुपमा रहने चर्चा गर्नुहुँदै व्यावसायिक क्षमता अभिवृद्धि तथा वृत्तिविकासका लागि समेत तालिम अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
उहाँले अहिलेको प्रतिस्पर्धी अवस्था अनुरुप आफूलाई शारीरिक एवं मानसिक रुपमा सधैं चुस्त र तन्दुरुस्त राखिरहनु पर्ने उल्लेख गर्नुहुँदै उच्च स्तरको तालिम, राम्रो तयारी र अनुभव प्राप्त जनशक्तिले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि आत्मविश्वास र धैर्यता कायम राख्दै म्याण्डेट बमोजिमको कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न सक्ने बताउनुभयो ।
सशस्त्र प्रहरी कर्मचारीहरुको तह अनुसार संगठनले विभिन्न आधारभूत तथा उन्नत किसिमका पेशागत तालिमको व्यवस्था गर्दै आएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले प्रत्यक्ष रुपमा फिल्डमा खटिने मध्यम स्तरका अधिकृतहरुलाई लक्षित गरी उनीहरुको व्यावसायिक दक्षता एवं कार्यक्षमतामा बृद्धि गर्ने हेतुले बटालियन कमाण्डर तालिम संचालन गरिएको उल्लेख गर्नुभयो ।
उहाँले प्रशिक्षार्थीहरुले तालिमको महत्वलाई बुझेर अनुशासित एवं मेहनताका साथ बढीभन्दा बढी ज्ञानसीप आर्जन गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनुहुँदै राष्ट्र, संगठन र जनचाहना बमोजिमको कार्यसम्पादनमा सकारात्मक सोचका साथ सक्रिय रहन निर्देशन दिनुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुहुँदै योग्य, व्यावसायिक एवं दक्षतायुक्त अधिकृत उत्पादनमा यो तालिम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले तालिमलाई स्तरीय र समयसापेक्ष ढंगबाट संचालन गर्न प्रतिष्ठान यथासंभव प्रभावकारी रुपले लाग्ने कुरा उल्लेख गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सम्भु सुवेदीले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई स्टाफ ड्युटी, कमाण्ड एण्ड म्यानेजमेन्ट, क्राइम कन्ट्रोल, इन्टेलिजेन्स, अपरेशन अफ वार, ट्याक्टिस, सुरक्षा, विभिन्न ऐन नियम तथा सशस्त्र प्रहरी बल नेपालको कामकारवाही लगायतका विविध विषयवस्तुहरुलाई समेटेर प्रशिक्षण दिइने बताउनुभयो ।
दुई महिना अवधिको सो तालिममा कूल ४५ जना सशसत्र प्रहरी नायव उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।
