हिँडे मौरी किसान चिउरी खोज्दै पहाडतिर

तु खबर संवाददाता
२०७४ फाल्गुन २, बुधबार १४:३८

रत्ननगर चितवन, २ फागुन । चिउरी फूल्ने मौसम भएकाले चितवनका मौरीपालक किसान मौरी चराउन पहाड लागेका छन् ।

मुख्यगरी मौरीले मह पार्ने मौसम भएकाले फूलको नजिक घार बोकेर किसान पहाड पुगेका हुन् । चिउरीको फूल फूल्ने बेला भएकाले उनीहरु चिउरी खोज्दै गाउँ पुगेका हुन् ।

चितवनको शक्तिखोर सिद्धी क्षेत्रमा मात्रै एकसय भन्दा बढी किसान अहिले मौरी चराउन पुगेको चितवनका मौरिपालक किसान शिवप्रसाद पौडेलले बताउनुभयो । उहाँले एक सय १० घार मौरीका साथ चितवनको विकट क्षेत्र सिद्धी पुग्नुभएको छ ।

सिद्धि, शक्तिखोरलगायत चितवनको पहाडी क्षेत्रमा अहिले ढकमक्क चिउरी फूलेको छ । स्वास्थ्यका लागि पनि चिउरीको मह लाभदायक हुने भएकाले यसको माग बढ्दो छ ।

उहाँसँगै रोशन पंण्डित, श्याम गुरुङ, प्रल्हाद अर्याल, नगेन्द्र थापा, गीता देवकोटा, लक्ष्मीनारायण मानन्धर, पदम अम्गाई, बालकृष्ण चापागार्इं, सोमलाल चौधरी, मदन मोक्तान, अशोक थपलिया पनि अहिले मौरी चराउन घार लिएर पहाडी क्षेत्र पुग्नुभएको छ ।

अहिले चिउरीको मह निकाल्ने र बेच्ने क्रम चलिरहेको किसान शिव पौडेलले बताउनुभयो । उहाँले मात्रै यो वर्ष २० क्विन्टल मह निकालिसक्नुभयो– “अझै ५, ६ क्विन्टल मह आउँछ की भन्ने लाग्या छ” अहिले चिउरीको मौसम भएकाले मौरीका घार सबै पहाडमा पुगेका छन्,’ पौडेलले भन्नुभयो ।

नेपाल मौरीपालक महासंघ चितवनका अध्यक्ष रोशन पंण्डितको १०० घार मौरी पनि अहिले सिद्धीमै छ । यसपाली उत्पादन राम्रो रहेको छ तर बजारको भने समस्या रहेको उहाँ बताउनुहुन्छ ।

भारतीय मह आउने गरेको र केही नेपाली व्यवसायीले नेपाली लोगो लगाएर भारतको गुणस्तरहीन मह बेच्ने गर्दा शुद्ध नेपाली महको बजार प्रभावित भएको उहाँ बताउनुहुन्छ । अर्की किसान गीता देवकोटाको २०० घार मौरी पनि अहिले पहाडमै पु¥याइएको छ ।

किसानलाई अहिले मह निकाल्न भ्याइनभ्याइ छ । जिल्लामा करिब ४०० मौरीपालन किसान रहेको अनुमान छ । अहिले महको थोक मूल्य प्रतिकिलो रु २८० देखि रु ३०० तथा खुद्रा मूल्य रु ५०० को हाराहारीमा रहेको किसानले बताएका छन् ।

नेपालमा विशेषगरी सेरेना र मेलिफेरा जातको मौरी पालन हुने गरेको छ । व्यावसायिक रुपमा भने मेलिफेरा जातको मौरीे पालन हुन्छ । चितवन जिल्ला मौरीपालनका हिसाबले पनि अब्बल छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*