सुवर्ण गुरुङको हत्यारा १६ वर्षपछि पक्राउ,यसरी भाग्दै थिए मलेसिया
काठमाडौं, २६ माघ । काठमाडौं महानगरपालिका–१४ ठमेलस्थित जुलि स्टुडियो ५४ डिस्कोमा २०५८ कात्तिक १८ गते १९ वर्षीय सुवर्ण गुरूङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतको २०६४ पुस १ गतेको फैसला अनुसार जन्म कैद सजाय तोकिएका आतिनी भन्ने मुखिया गुरुङलाई भारतमा पक्राउ गरि शुक्रबार नेपाल ल्याइएको छ ।
मुखियालाई नेपाल प्रहरीको अनुरोधमा ईन्टरपोल सचिवालयबाट सन् २०१७, नोभेम्बर २८ मा रेडक्रनर नोटिस जारी भएको थियो ।
सन् २०१७, डिसेम्बर ८ मा भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेशिया जाने क्रममा मुखियालाई इन्टरपोल इन्डियाले पक्राउ गरी दिल्लीस्थित पटियाला कोर्टमा उपस्थित गराएकोमा शुक्रबार उक्त अदालतको फैसला अनुसार भारत सरकार परराष्ट्र मन्त्रालयले नेपाल प्रहरीलाई बुझाएपछि उनलाई नेपाल प्रहरीले नेपाल ल्याएको हो । मुखियालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिने छ ।
