सर्लाहीको हरिवनमा यसरी सुरु भयो वृहत ल्होछार साँस्कृतिक महोत्सव

तु खबर संवाददाता
२०७४ माघ २५, बिहीबार १९:३८

–उपेन्द्र गोले
सर्लाही, २५ माघ । सर्लाहीको हरिवनमा बिहीबारदेखि वृहत ल्होछार साँस्कृतिक महोत्सव सुरु भएको छ । फागुन ४ गते परेको २८५४औं खि सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ हरिवन नगर कमिटि र स्मृति कला केन्द्रले संयुक्त रुपमा महोत्सव गरेको हो ।

फागुन ५ गते सम्म चल्ने महोत्सकको आज एक कार्यक्रमका वीच रक्षा मन्त्री भीमसेन दास प्रधानले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै रक्षा मन्त्री प्रधानले नेपाल विभिन्न जातजाती र धर्म सँस्कृतिको देश भएकोले सवै जातजाती भाषा धर्मको सम्मान गर्दै देशको विकासमा सवै एक ढिक्का भई लाग्नुको विकल्प नभएको बताएका छन् ।

त्यस्तै उनले देशको शासनसत्ता ब्राह्मणले मात्रै गरेको भन्नु भन्दा पनि किन व्राह्मणहरु नै सत्तामा छन् भनेर खोजी गर्नु पर्ने धारणा राख्दै राष्ट्रियताको सवालमा सवै एक हुनु जरुरी रहेको पनि बताए । महोत्सवको उद्घाटन कार्यक्रम पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराज डंगोल, प्रदेश सभा सदस्य डिल्ली उप्रेती, प्रमख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, जिल्ला समन्वय समितिका सभापति मैथुर चौधरी, जिल्ला प्रहरी प्रमुख मोहम्मद मसाउद आलम खाँ, लालबन्दीकी उपमेयर शान्ति लामा, अन्तरपाटी महिला संजाल हरिवनकी अध्यक्ष पद्मा मोक्तान, नेपाल तामाङ्गका केन्द्रीय सदस्य अर्जुन योन्जन, पूर्व केन्द्रीय सदस्य ईन्द्र योन्जन, चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामा अन्य थुप्रै तामाङ्ग अगुवा र संचारकर्मी लगायतको उपस्थिति रहेको आयोजक एवं नेपाल तामाङ घेदुङ्ग हरिवनका अध्यक्ष शशी बलले जानकारी दिए ।

महोत्सवमा विभिन्न तामाङ्ग जातीको पहिचान झल्कने झाँकी नृत्य, राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती समेत हेर्न सकिने महोत्सव प्रचार प्रसार संयोजक एवं नेपाल तामाङ घेदुङ्ग हरिवनका सचिव राजु लो तामाङ्गले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*