छुटपूर्जी नदिँदा नेपाल प्रवेशमा सकस

तु खबर संवाददाता
२०७४ माघ २४, बुधबार १५:४२

वीरगञ्ज, २४ माघ । पश्चिमी पर्साको भिस्वा छोटी भन्सार कार्यालयले नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधानलाई छुटपूर्जीको व्यवस्था नगर्दा भारतीय गाडीधनीलाई नेपाल प्रवेशमा सकस भएको छ ।

सीमावर्ती भारतको सिक्टा बजारबाट दैनिक सयौँ भारतीय नम्बर प्लेटका गाडी नेपालतर्फ आउँदा भिस्वा भन्सार कार्यालयले सो गाडीको छुटपूर्जी नकाट्दा उनीहरुलाई छुटपूर्जीको लागि करिब ४० किलोमिटरको यात्रा तय गरी वीरगञ्ज भन्सार कार्यालय आउनुपर्ने बाध्यता रहेको छ ।

भारतबाट सिक्टा नाका हुँदै दैनिक भारतीय गाडी नेपाल प्रवेश गर्न भिस्वा भन्सार कार्यालयमा छुटपूर्जीकै लागि आउने गरेको तर छोटी भन्सारले छुटपूर्जी नदिँदा भारतीय नागरिक समस्यामा पर्ने गरेको प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक रोशन अधिकारीले बताउनुभयो ।

छिपरमाइज गाउँपालिकाअन्तर्गत नेपाल–भारतको सीमामा पर्ने भिस्वा भन्सार कार्यालयलाई भारतबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनको छुटपूर्जी काट्ने अधिकार नदिएका कारण समस्या भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादव छुटपूर्जी काट्ने अधिकार नपाउँदा समस्या आएको बताउनुहुन्छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*