८ महिना तलब नपाएपछि मकवानपुरमा शिक्षकहरुद्वारा सामुहिक राजिनामा, एक जनाको भरमा विद्यालय

तु खबर संवाददाता
२०७४ माघ २३, मंगलवार १८:०८

-यादव चौलागाईँ
मकवानपुर, २३ माघ । मकवानपुरको बकैया गाउँपालिका वडा ६ मा रहेको जनस्थापित रत्न आधारभूत विद्यालय झोलखानीका शिक्षकहरुले सामुहिक राजिनामा दिएपछि पठनपाठनमा समस्या भएको छ ।

वि.सं. २०६३ सालमा स्थापित प्राथमिक विद्यालयमा ८ महिना देखि तलबभत्ता नपाएपछि शिक्षकहरुले राजिनामा दिएका हुन् । निजि स्रोतबाट नियुक्त गरिएका ३ जना शिक्षकहरुले बिगतमा सामुदायिक बन तथा चन्दा सङ्कलन बाट तलब लिँदै आएका थिए । उनीहरुले हाल विद्यालय ब्यवस्थापनले स्रोत खोज्दा समेत नसकेपछि तलब लिन पाएका थिएनन् । चन्दा र सहयोगीमा भर पर्नु बाध्यता रहेको विध्यालयका प्रध्यानाध्यापक सुरेन्द्र मोक्तानले जानकारी दिए ।विद्यालयमा मोक्तान मात्रै स्थायी शिक्षक हुन् । जिल्ला शिक्षा कार्यालयले विद्यालयमा इसिडी समेत उपलब्ध गराएको छैन । सरकारी विद्यालय भएर पनि विद्यालयप्रति जिल्ला शिक्षा कार्यालय लगायत सरोकार नपुग्नु समेत हास्यास्पद देखिएको स्थानीय अभिभावक नरबहादुर स्याङ्तानले बताए ।

विद्यालयमा ५ कक्षा सम्म पढाई हुँदै आएको छ भने पढाउने शिक्षक १ जना मात्रै छन् । मोक्तानले गाउँपालिका लगायतको केही सरोकारवाला निकायले सहयोग गरे विद्यालयमा केही सहजता आउने र बिद्यालय बन्द नहुने बताए । विद्यालयमा भर्ना भएका विद्यार्थीको संख्या ८१ छन भने छात्राको संख्या ३५ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*