हेटौँडा बजारमा दर्ता नभएका ठेला र फुटपाथे व्यापारीको बिगबिगी
-चन्द्र घलान
मकवानपुर, २३ माघ । प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुरको हेटौँडा बजारमा दर्ता नभएको ठेला र व्यवसायी परिचय पत्र नभएका व्यापारीहरुको बिगबिगी रहेको बताइएको छ । मकवानपुर उद्योग वाणिज्य संघ, हेटौँडा उपमहानगरपालिका र ट्राफिक प्रहरी समेतको समन्वयमा यही फागुन १ गतेदेखि बजार क्षेत्रको फुटपाथ पूर्ण रुपमा हटाईने योजना बनेको बेला यस्तो तथ्य खुलेको हो ।
यसबारेमा तु खबरसँग कुराकानी गर्दै फलफुल तथा तरकारी व्यसायी संघका अध्यक्ष खड्गबहादुर मोक्तानले हेटौँडामा व्यवसायी परिचयपत्र भएका र दर्ता भएका ठेला व्यवसायीहरु करिब ५ प्रतिशतको हाराहारीमा मात्र रहेको बताए । ‘संघले ठेला दर्ता गर्ने अधिकार अहिले नभए पनि १०–१५ वर्ष अगाडि संघमा दर्ता गरिएका केही ठेलावालाहरु छन् । साथै हामीले व्यापार गर्ने र हाम्रो संघमा जोडिनेलाई व्यवसायी परिचय पत्र दिने गरेका छौँ, तर त्यस्ता व्यवसायीहरु ५ प्रतिशत जति मात्र होलान्’ उनले भने, ‘अरु त सबै दर्ता नभएका र व्यवसायी परिचयपत्र नभएकाहरु नै हुन् ।’
अध्यक्ष मोक्तानका अनुसार ठेला नै दर्ता गर्ने अधिकारचाहिँ अहिले उपमहानगरपालिकासँग मात्र छ । डोकोमा होस् वा चाहे ठेला तथा नाङ्लोमा जति व्यापार गरे पनि आफुहरुले व्यवसायी परिचय पत्र दिने गरेको बताउँदै अधिकांशले परिचय पत्र नै नलिएर बजार कब्जा गरेको उनको भनाई छ । ‘तर यसको अर्थ उनीहरुलाई व्यापार गर्न नदिने भन्ने होईन, सबै ठेलावाला र व्यवसायीको उचित व्यवस्था हामी सबै मिलेर गर्नुपर्छ, ’ मोक्तानले भने । सबै व्यवसायीले कर दिन सक्छन् र उनीहरुलाई राज्य तथा स्थानीय सरकारले नै सेवासुविधा र उचित स्थान दिएर करको दायरामा ल्याउनुपर्ने उनको धारणा छ ।
ठेलाकै विषयमा कुरा गर्दै हेटौँडा उपमहानगरपालिकाका सूचना अधिकारी शंकर उपाध्यायले कुनै पनि व्यवसायीले बिना दर्ता ठेला संचालन गर्न नपाउने बताए तर धेरै जस्तो ठेलाहरु दर्ता बिना नै संचालनमा रहेको उनी पनि स्विकार्छन् । यसका लागि विभिन्न पहलहरु समेत गरिएको उनले बताए ।
यस विषयमा मकवानपुर उद्योग वाणिज्य संघले संचारकर्मी, वस्तुगत संघ, नगरपालिका र ट्राफिक प्रहरीबिच गराएको छलफलमा पनि तरकारी व्यवसायी संघका प्रतिनिधिले तरकारी पसललाई समस्यै समस्या भएको बताएका थिए । साथै फुटपाथको तरकारी बजारलाई समायोजन गर्न २ घण्टे बजारको अवधारणा पनि प्रस्तुत गरेका थिए ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नविन अधिकारीले हेटौँडामा बिना दर्ता व्यवसाय गर्न सहज देखिएको बताउँदै छिट्टै ठेलावाला तथा बिना दर्तावाला फुटपाथ व्यवसायी बढेको बताएका छन् । ‘ हेटौँडामा फुटपाथ व्यवसाय गर्दा कसैले केही गर्दैन भन्ने धारणा छ, एउटा व्यक्ति ठेला लिएर छिर्छ, उसले यहाँ सहज देख्छ र आफ्नो भाईलाई पनि ठेला लिएर बोलाउँछ’ उनले भने ।
यस विषयमा आफ्नो धारणा राख्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले फुटपाथ तथा सवारी व्यवस्थापन गर्नु सबैको दायित्व भएको भन्दै फुटपाथ र सवारी व्यवस्थापन गर्न संघले पहल सुरु गरेको बताए । फुटपाथ व्यवसायीले बजार कुरुप देखिएको र त्यसले अन्य व्यापारीलाई समेत प्रतिस्पर्धामा उतारेको उनको बुझाई छ । कतिपय व्यापारीहरुले सटर हुँदा हुँदै पनि फुटपाथ ब्यापारीकै शैलीमा पसलका सामान बाहिर निकालेर व्यापार गर्ने गरेको उनले बताए ।
