अब हेटौँडाका सबै होटलमा सिसी टिभी क्यामेरा जडान गरिने
मकवानपुर, २२ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा संचालित बास सहितको सेवा भएको होटलको रिसेप्सनमा सिसी टिभी क्यामेरा जडान गरिने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ, होटल व्यवसायी र जिल्ला प्रहरी कार्यालय मकवानपुर सहितको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णय भए अनुसार बासको व्यवस्था रहेको होटल लजहरुको रिसेप्सनमा सीसी टिभी क्यामेरा राखिने छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको सो छलफलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलिपराज झाले होटलहरुमा हुने अवाञ्छित कार्यहरु निरुत्साहित गर्नका लागि होटल व्यवसायीको समेत भूमिका रहने बताएका छन् । होटल एशोसियसन मकवानपुरका अध्यक्ष भगीरथ शर्मा खरेलले होटल व्यवसायले रोजगार, राजश्व, विदेशी मुद्रा आर्जन जस्ता क्षेत्रमा टेवा पुर्याएपनि जिल्लाका होटल व्यवसायीले प्रहरी प्रशासनबाट सहयोग नपाएको गुनासो गरेका छन् ।
छलफलबाट बास बस्न आउने ग्राहकलाई परिचय पत्रको प्रतिलिपी लिएर मात्र बास बस्न अनुमति दिनुपर्ने प्रहरी नायब उपरीक्षक झाको भनाई रहेको थियो भने, मर्यादित रुपमा व्यवसाय सञ्चालन गरेका होटलमा कुनै किसिमको दुख नदिएको धारणा व्यक्त गरेका छन् । छलफलमा होटल एशोसियसनका पदाधिकारी, संघका पदाधिकारी सदस्यलगायतको उपस्थिति रहेको थियो ।
