आजदेखि हेटौँडामा मनलाग्दी भारी सवारी प्रवेश गर्न नपाईने
हेटौँडा, २२ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा आज सोमबारदेखि भारी सवारी साधनहरु जथाभावी मनलागेको समयमा प्रवेश गर्न नपाईने भएको छ । निश्चित समयमा मात्र भारी सवारी साधनहरुले प्रवेशको अनुमति पाउनेछन् ।
सवारी साधनको बढी चाप हुने समयलाई ध्यान दिँदै मकवानपुर उद्योग वाणिज्य संघमा आईतबार बसेको बैठकले भारी सवारी प्रवेशको हकमा समय निर्धारण गरेको हो ।
सवारी व्यवस्थापन समितिका संयोजक काव्यमणि अधिकारीको अध्यक्षतामा भएको सो छलफलबाट हेटौंडाको कान्तिराजपथतर्फ बुद्धचोकदेखि नगरपालिका मोडसम्म, स्कूल रोडतर्फ सिमाचोकदेखि भुटनदेवी स्कूल मोडसम्म, पारिजात पथतर्फ भुटनदेवी स्कूल मोडदेखि शितल महलचोक सम्मको क्षेत्र भित्र भारी सवारी साधन प्रवेशका लागि समय निर्धारण गरिएको हो ।
छलफलको निर्णय अनुसार बिहान ९ देखि ११ र दिउँसो ३ देखि साझ ५ः३० बजेसम्म ९ टन भन्दा बढी क्षमताका सवारीले सामान लोड अनलोड लगायतका कार्यहरु गर्न नपाउने गरि निर्णय भएको छ । सो क्षेत्रमा प्रबेश गरेका ९ टन भन्दा बढी क्षमता भएका सवारी विहान ९ बजे अगावै सो क्षेत्रबाट हटिसक्नु पर्नेछ भने बेलुका ५ः३० पछि मात्र सो क्षेत्रमा प्रबेश पाउने निर्णय गरिएको छ ।
गत माघ ८ गते संघका सचिव काव्यमणि अधिकारीको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, नारायणी यातायात व्यवसायी संघका प्रतिनिधि, हार्डवयर व्यवसायी, कपडा व्यवसायी, फर्निचर व्यवसायी सहितको प्रतिनिधित्व रहने गरी सवारी व्यवस्थापन समिति गठन गरिएको थियो ।
