सवारी दुर्घटनामा ५ जनाको मृत्यू
काठमाडौं, २१ माघ । मुलुकका विभिन्न स्थानहरुमा भएको छ्ट्टाछुट्टै सवारी दुर्घटनामा परि ५ जनाको ज्यान गएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ स्थित सडकमा बा.३ ख ३३२६ नम्बरको टिपरले भक्तपुर सुर्यबिनायक नगरपालिका–१० बस्ने ५५ वर्षीय पैदलयात्री बद्री खड्कालाई शनिबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ बनस्पति उद्यानस्थित पूर्व–पश्चिम राजमार्गमा ना.४ख ६०५४ नम्बरको बसले पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय कुलबहादुर खत्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित ढल्केबर–जनकपुर सडक खण्डमा ना.७ ख ३२२६ नम्बरको टिपर शनिबार राति अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा चालक लक्ष्मिनिया गाउँपालिका–४ बस्ने २५ वर्षीय उदय कुमार ठाकुर र सहचालक मिथिला नगरपालिका–२ नक्टाझिझ बस्ने १९ वर्षीय संजय पासवानको घटनास्थलमै मृत्यु भएको छ ।
नवलपरासीको देवचुली नगरपालिका–१६ रजहर चोक स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति नम्बर खुल्न नसकेको सवारी साधनले नाम, थर वतन नखुलेको अंदाजी १९ बर्षीय पुरुषलाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
