निर्धारित समयमा बाटो नबनेपछि मेयरको ढोका ढकढकाउँदै थाहानगरवासी

तु खबर संवाददाता
२०७४ माघ २०, शनिबार ०८:१७

-मञ्जरी बलामी
मकवानपुर, २० माघ । निर्धारित समयभन्दा धेरै पछिसम्म पनि सडक नबनेपछि दामन डाँडाबास सडक खण्डका सरोकारवाला आमनागरिकले शुक्रबार थाहा नगरपालिकाका नगर प्रमुख लवसेर बिष्ट सामु ज्ञापन पत्र बुझाएका छन् ।

थाहा नगरपालिकाको दोबाटो नागदह जिरो पोइन्टदेखि डाँडाबाससम्म दामन डाँडाबास सडक निर्माणका लागि एस.एन.आर.टी.पिको लागतमा सिंह एण्ड ब्रदर्श निर्माण कम्पनीले ठेक्का पारी काम सञ्चालन गरेको तर सम्झौता मिति भन्दा धेरै समयसम्म पनि काम सम्पन्न नगरेको कारण आम नागरिकलाइ आवत जावतमा र सामान ओसारपसारमा समस्या भएको भन्दै ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा काममा गुणस्तर नभएको, दामन डाडाबासको भुङ्दाल खोलामा कजवे निर्माणका लागि २ महिना देखि खनेर बाटो अवरुद्ध गरेको र हालसम्म काम नभएको, भुङ्दाल देखि शङ्खमुल सम्मको सडकमा बालुवा प्रसोधन कम्पनीबाट उत्पन्न पाङ्गो र हिलोको कारण गाडी मोटरसाइकल र एम्बुलेन्स समेत सञ्चालनमा बाधा उत्पन्न भएको, बिरामी लैजान नसकी बिचैमा मृत्युबरण गर्नुपर्ने गम्भिर मानबिय संकट भएको जस्ता गुनासाहरु समेटिएका छन् ।

यस सन्दर्भमा निर्माण कम्पनीलाई काममा ढिला सुस्ती नगर्न उपभोक्ताको समुहले अनुरोध गर्दा प्राबिधिक समस्या देखाउने र उल्टै जे सक्छस् त्यही गर भनेर धम्क्याएको लगायतका कारणहरु समेत ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै थाहा नगरपालिकाका नगरप्रमुख बिष्टले शनिबार बिहान ११ बजे थाहा नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा आम नागरिक, उपभोक्ता समिति र निर्माण कम्पनीबिच बैठक राख्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*