३ नम्बर प्रदेशको प्रथम बैठकमा पत्रकारले के गर्न पाउँछन् ? के गर्न पाउँदैनन् ?
–चन्द्र घलान
मकवानपुर १८ पुस । प्रदेश नम्बर ३ को प्रथम बैठक आज दिउँसो १ बजे हेटौंडामा हुदैँछ । बैठकका लागि आवश्यक तयारी पुरा भईसकेको छ । बैठकाका लागि बुधवार सर्वदलिय बैठक मार्फत कार्यसुचीहरु प्नि तय भईसकेका छन् ।
११० जना प्रदेशसभा सदस्यहरुको बैठकमा उपस्थित सबैलाई विशेष मर्यादा र आचारसंहिताहरु बनाइएको छ । साथै समाचार संकलनका लागि जाने पत्रकारहरुलाई पनि विशेष आचारसंहिता बनाइएको छ । संसद सचिवालयमा व्यवस्थापनका लागि सजिलो होस् भन्ने उदेश्यले संचारकर्मीहरुलाई मध्यान्ह १२ बजे नै पुग्नुपर्ने नियम बनाइएको छ । प्रदेशसभा सचिवालय सचिव डा. रोजनाथ पाण्डेका अनुसार २० जना संचारकर्मीहरु मात्र भित्र बसेर रिपोर्टिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरसँग समन्वय गरेर बुधबार बेलुका नै संसद बैठक भित्र बस्ने २० जना पत्रकारहरुको नाम सिफारिश भइसकेको छ । तर अन्य टेलिभिजन र रेडियोका संचारकर्मीहरुका लागि श्रव्यदृश्य सामाग्री भने संसद सचिवालयले बाहिरनै उपलब्ध गराउने जानकारी गराएका छन् ।
त्यस्तै पत्रिकामा काम गर्ने संचारकर्मीहरुले भने तोकिएको समयमा भित्र गएर फोटो खिच्ने बित्तिकै बाहिर आउनुपर्ने भनिएको छ । बाहिर बस्नुपर्ने संचारकर्मीहरुले भने प्रोजेक्टरमा हेरेर समाचार संकलन गर्न सक्ने ब्यबस्था मिलाइएको सचिव डा. पाण्डेले जानकारी गराए । रिपोर्टिङमा एउटा संचार माध्यमबाट एक जना संचारकर्मीमात्र आउन पाईने र आफु कार्यरत संचार माध्यमको परिचयपत्र लिएर आउन आग्रह गरिएको छ । भित्रै बस्ने २० जना लाई भित्र छिर्ने र भित्रै बैठमा बसिरहने संचारकर्मीका लागि संसद सचिवालयको पास उपलब्ध गराएको छ । भित्र बसेका पत्रकारहरुले पनि तोकिएको समयमा र तोकिएको स्थानभन्दा अन्य समय र स्थानबाट श्रव्यदृश्य सामाग्री लिन पाउनेछैनन् । सचिवालयको मर्यादालाई पनि उनीहरुमा लागु हुनेछ ।
बैठकको पहिलो कार्यसूचिमा सभामुख डोरमणि पौडेलले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनेछन् । दोश्रोमा ऐतिहासिक प्रथम पहिलो अधिवेशन प्रारम्भका अवसरमा दलका प्रतिनिधिहरुले मन्तव्य राख्नेछन् । त्यस्तै माननीय सभामुखले ‘प्रदेश नम्बर ३ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४’ लाई पारित गरियोस् भनि प्रस्ताव गर्नेछन् ।
चौथोमा माननीय सभामुखले ‘प्रदेश नम्बर ३ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४’ बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरुको मनोनयन गर्नेछन् । अन्त्यमा पाँचौ कार्यविधि अनुसार माननीय सभामुखले प्रदेशसभा अन्तरिम कार्यविधि, २०७४ को दफा (६) को उपदफा (१) बमोजिम प्रदेशसभाको सभामुखको निर्वाचनका लागि दिन तोक्नेछन् ।
प्रदेशसभा बैठकमा नेकपा एमालेका ५८ जना ,नेपाली काँग्रेसका २१ जना, माओवादी केन्द्रका १५ जना ,राप्रपाका १ जना ,राप्रपा प्रजातान्त्रिकको १ जना ,नेमकिपाको २ जना ,नयाँ शक्तिको १ जना ,विवेकशिलको ३ जना र अन्य ८ जना सदस्यहरु रहेका छन् ।
