सरकारी अनुदान रकम लिन भुकम्प प्रभावितलाई झण्झट, दिक्क भए मकवानपुरका भूकम्प पिडीत
मकवानपुर, १७ माघ । मकवानपुरका भुकम्प पीडितले सरकारले प्रदान गर्ने अनुदान समयमा नपाएको गुनासो गरेका छन् । मकवानपुरको मकवानपुरगढी–२ स्थित शिखरकट्टेरीमा बुधबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले यस्तो गुनासो गरेका हुन् ।
रेडियोको आठौँ वार्षिकोत्सवका अवसर पारेर ट्रान्सपरेन्सी इन्टरनेशन नेपाल र रेडियो मकवानपुले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा प्रभावितहरुले प्राविधिकहरु ढिला आउँदा समस्या व्यहोर्नु परेको बताए । लाभग्राहीले अनुदानवापतको रकम लिन प्रक्रियागत झण्झटका कारण ढिलाई हुने गरेको भन्दै सार्वजनिक सुनुवाई कार्यक्रममा कतिपय भुकम्प पीडितहरुको नाम लाभग्राही सूचीमा नपरेको स्थानीय बासिन्दाले बताए ।
सार्वजनिक सुनुवाईमा उठेका जिज्ञाशाहरुको जवाफ दिंदै जिल्ला प्राविधिक कार्यालय मकवानपुरका प्रमुख सोमनाथ तिमल्सिनाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकेको मापदण्ड पूरा नभएपनि प्राविधिकले निरीक्षण गर्दा भवन भूकम्प प्रतिरोधी पाइएमा अनुदान प्रदान गर्ने बताए । उनले भुकम्प पीडितलाई प्रदान गर्ने ऋणको तीनलाख रुपियाँसम्मको ब्याज सरकारले नै बैंकलाई दिने नीति लिएको जानकारी दिए ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बखानसिंह पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो मकवानपुरका स्टेशन संयोजक राममणि दाहाल, ट्रान्सपरेन्सी इन्टरनेशन नेपाल मकवानपुरको कार्यक्रम अधिकृत प्रमिला थिङ, जिल्ला आयोजना कार्यान्वयन ईकाईका मूल्याङ्कन तथा विशेषज्ञ विवेक गौतमलगायतका सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।
साथै रेडियोको हरेक वर्ष जिल्लाको आर्थिक सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका दुईजनालाई प्रदान गर्दै आएको सामुदायिक सम्मान माघ २२ गते प्रदान गर्ने छ । यसैबीच रेडियो सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले आफ्नो २० औँ स्थापना दिवस माघ २२ गतेनै मनाउने सहकारीले जानकारी दिएको छ । सामुदायिक सम्मान तथा सहकारीको स्थापना दिवसका अवसरमा हुने कार्यक्रम सिचाई मन्त्री सञ्जयकुमार गौतमको प्रमुख आतिथ्यमा हुने छ ।
