हेटौँडामा दुई जना युवक पक्राउ
मकवानपुर, १७ माघ । लागुऔषधसहित मकवानपुरको हेटौँपडामा २ जना युवक पक्राउ परेका छन् । मंगलबार करिब ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा १५ चुरियामाई स्थित पूर्व पश्चिम लोकमार्गमा हेटौडाबाट पथलैयातर्फ जादै गरेको बा.६८ प.५३१० नम्बरको मोटरसाईकल रोकी जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर २ बस्ने ४२ वर्षीय सुरज लामालाई पक्राउ गरिएको छ ।
उनलाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा उनले पछाडि भिरेको कालो झोला भित्र रातो प्लाष्टिकको डोरीले बेरी लुकाई छिपाई ल्याएको अबैध लागू औषध गाँजा ५ किलो ५०० ग्राम फेला परेको थियो । उनलाई लागू औषध ऐन २०३३ बमोजिम ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै मंगलाबार नै दिउँसो करिब साढे १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटाँैडा १५ स्थित रातोमाटे चेकपोष्ट सडकमा सवारी साधन जाँच गर्ने क्रममा विरगंजबाट काठमाण्डौतर्फ जाँदै गरेको बा.७९ प.७९७२ नम्बरको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा काठमाण्डौ जिल्लाको नारायणथान नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षी नरेन पुन मगरलाई पक्राउ गरिएको छ ।
उनलाई नियन्त्रणमा लिई शसीर खानतलासी गर्दा उनले पछाडी भिरेको खैरो रङको ब्याग भित्र लुकाई छिपाई राखेको डाईलेव १६ एम्पुल, नोफिन २२ एम्पुल र फेनागर्न १७ एम्पुल गरी ५५ एम्पुल फेला परेपछि पक्राउ गरिएको हो । पुनलाई लागू औषध ऐन २०३३ बमोजिम ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
