भूकम्पपीडितको नाममा काठ बेच्दै

तु खबर संवाददाता
२०७४ माघ १७, बुधबार १६:१३

बनेपा, १७ माघ । काभ्रेपलाञ्चोकमा घर बनाउन नपर्नेले पनि भूकम्पपीडितको नाममा काठ बेच्ने गरेका छन् ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले बनेपामा आयोजना गरेको दिगो शान्तिका लागि संवाद कुञ्जमा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले पुनःनिर्माण गरिसकेका व्यक्तिले पनि भूकम्पपीडितको रातो कार्ड लिएर त्यसको दुरुपयोग गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “भूकम्पपीडितको नाममा काठ लिएर बेच्ने गरेको पाइएको छ, यो वास्तविक भूकम्पपीडितमाथिको अन्याय हो ।” जिल्ला वन कार्यालयका वन अधिकृत प्रेम खनालले भूकम्पपीडितको पुनःनिर्माणको विषयमा आफू गम्भीर भएको उल्लेख गर्दै पुनःनिर्माणको काठका लागि टिसिएनलाई पत्राचार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “कतिपय उपभोक्ता सालको काठ नै चाहिन्छ भन्नुहुन्छ तर उत्तीस, सल्लाको काठ पनि उपचार गरेर प्रयोग गर्न सकिन्छ ।” वन अधिकृत खनालले कमजोर काठलाई बलियो बनाउन पाँचखालमा ‘उड ट्रिटमेण्ट प्लान्ट’ स्थापना गरिएको जानकारी दिनुभयो ।

भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले सिमेन्टको मूल्य बढेको कारण पुनःनिर्माण प्रभावित भएको बताउनुभयो । उद्योग वाणिज्य संघ, बनेपाका अध्यक्ष प्रकाश मानन्धरले गाडी भाडा बढ्दा त्यसको प्रभाव पुनःनिर्माणसँग सम्बन्धित सामग्रीमा पनि परेको बताउनुभयो ।

पुनःनिर्माणका लागि जिल्लामा उपभोक्ताले अहिलेसम्म २७ हजार क्युफिट काठ लिएको बताइएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*