जंगलमा लडेर पतिको मृत्यू भएपछि मकवानपुरमा गर्भवती श्रीमतीसहित एक परिवारको बिचल्ली
मकवानपुर, १५ माघ । जंगलमा लडेर पतिको मृत्युहुँदा यहाँको एक परिवारको विचल्ली भएको छ । कैलाश गाउँपालिका–१० का सूर्यबहादुर प्रजाको माघ १३ गते शनिबार घर बार्न सिठ्ठा काट्न जंगल जाँदा लडेर मृत्यु भएसँगै उनको गर्भवती पत्नी र तीनवटा छोराको विचल्ली भएको हो ।
प्रजा सिठ्ठा काट्ने कैलाश गाउँपालिका–४ भ्याङे जंगलमा गएका थिए । जंगलमा सिठ्ठा काट्ने क्रममा लड्दा ढुंगामा ठोकिएको अवस्थामा प्रजा भेटिएको थियो । मृतकको करिब ३० वर्षीय पत्नी राममाया प्रजा गर्भवती रहेको र तीनवटा छोरा समेत भत्किएको घरमा खानेकुराको अभावमा बस्न बाध्य छन् ।
उनका छोराहरु १२ वर्षीय, आठ वर्षीय र दुई वर्षीय रहेका छन् । रितअनुसार दाहसंस्कार गर्न आवश्यक खर्च वडा अध्यक्ष माणिकलाल मोक्तानले व्यवस्था गरेका थिए ।
लास पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याएको र त्यसपछि रितिअनुसार दाह संस्कार गरेपनि आवश्यक दैनिक उपभोग्य सामग्रीको अभावमा परिवारको दिनहरु गुज्रिरहेको छ । ‘किरिया गर्न समेत खर्चको अभाव रहेको छ । त्यसमाथि गर्भवती रहेकी राममायाको परिवार राहतको पर्खाइमा रहेको’, वडा अध्यक्ष मोक्तानले भने । ‘घर पनि भत्किएको छ । खानेकुराको समेत अभाव रहेको छ । घरको आर्थिक अवस्था समेत दयनिय रहेको छ’, उनले भने ।
