चेतन कार्की र गायिका कोमल वली सहित मकवानपुरे स्रष्टाहरु सम्मानित
मकवानपुर, १५ माघ । मोफसलमा स्थापना भएर साहित्य कलाको क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान गर्दै आएको भीम विराग, सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार चेतन कार्कीलाई प्रदान गरेको छ । प्रतिष्ठानले सोमबार हेटौंडामा कार्यक्रम गर्दै एक लाख राशी रहेको उक्त पुरस्कार भाषा, सङ्गीत, साहित्य, कलामा योगदान पु¥याएको भन्दै कार्कीलाई प्रदान गरेको हो ।
साहित्य प्रेमी कनहैया कृष्ण श्रेष्ठले आमाको नामा स्थापना गरेको पुरस्कारबाट यसअघि अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, नाट्यश्वर संगीत प्रशिक्षण केन्द्र, मीरा राणा र कर्म योञ्जनलाई सम्मान गरि सकिएको छ ।
त्यस्तै लोक गायिका कोमल वलीलाई २० हजार राशीको विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कारबाट सोमबार नै सम्मान गरिएको छ । यसैगरी प्रतिष्ठानले सहित्यमार्फत् राष्ट्रिय पहिचान बनाउन सफल कवि अनिता न्यौपानेलाई तुलसीमाया शिवकुमारी सृजनशिल नारी पुरस्कारबाट सम्मान गरेको छ । साहित्य संगम मकवानपुरको उपाध्यक्ष तथा आँचल साहित्य कला पुञ्जकी सचिवसमेत रहेकी न्यौपानेलाई नगद दश हजारसहित सम्मान गरिएको हो ।
त्यस्तै साहित्य संगम मकवानपुरका अध्यक्ष तथा साहित्यकार निमेष निखिललाई ११ हजार राशीको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार र गायिका विद्या तिवारीलाई १५ हजार राशीको शीला नारी सङ्गीत पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै नाट्यकर्मी कुमार शाहलाई २५ हजार राशीको हर्षनर बज्राचार्य स्मृति पुरस्कार, बालगायक चिराग डंगोललाई ७ हजार ५ सय राशीको भीम–मथुरा बाल प्रतिभा र स्वयमसेवी चम्पा कोजुलाई दश हजार राशीको मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कारबाट सम्मानित गरिएको छ ।
कालजयी सङ्गीत स्रष्टा भीम विरागको ८४ औं जन्मजयन्तीको अवसरमा भएको े विशेष साहित्यिक कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो ।
