१ सय ८१ सदस्सीय एपिएफ टोली साउथ सुडान प्रस्थान

तु खबर संवाददाता
२०७४ माघ १५, सोमबार १७:५७

काठमाडौं, १५ माघ । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड् नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु) को रुपमा खटिएको सशस्त्र प्रहरी बल नेपालको एकसय ८१ सदस्यीय एपीएफ टोलीको बिदाई गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा माघ १५ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले सो टोलीलाई शुभकामनासहित हार्दिक विदाई गर्नुभयो । विदाई समारोहलाई सम्बोधन गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बलको बर्दीमा नेपालको प्रतिनिधिको रुपमा शान्ति स्थापनार्थ परदेश सेवामा रहँदा संयुक्त राष्ट्रसंघको म्याण्डेट र प्राप्त कार्यादेश बमोजिमको जिम्मेवारीलाई पुरागर्ने सिलशिलामा अनुशासित एवं बफादार भई व्यावसायीक कार्यकुशलताको उत्कृष्ट नमूना प्रदर्शन गर्न निर्देशन दिनुभयो ।

उहाँले युएन मिसनलाई अवसरको रुपमा लिएर अझै बढी संवेदनशिल एवं निःस्वार्थ भावनाका साथ दायित्व निर्वाहमा क्रियाशिल रहनुपर्ने बताउनुहुँदै शान्ति मिसनमा सहभागी विभिन्न देशका सुरक्षा अधिकारी तथा अन्य सम्बन्धित पक्षहरुसँग आवश्यक समन्वय एवं सहकार्य गर्दै आपसी सहयोग, सदभाव र सामूहिक एकताका साथ सधैं चेन अफ कमाण्डमा रहेर कार्य गर्न निर्देशन समेत दिनुभयो ।

व्यक्तिगत रुपमा आर्थिक उपार्जन र सशस्त्र प्रहरी कर्मचारीको हितमा संचालित कल्याणकारी कार्यक्रमको निरन्तरताका लागि समेत युएन मिसन महत्वपूर्ण रहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले भन्नुभयो–‘संगठनले तपाईहरुलाई शान्ति मिसनमा जाने वातावरण बनाएको छ, आगामी दिनमा तपाईहरु अहिलेको भन्दा पनि बढी जिम्मेवार, कर्तव्यनिष्ठ, बफादार एवं संगठनप्रति कृतज्ञ रहनुपर्छ ।’

संगठनले बनाएको क्राइटेरिया बमोजिम जेष्ठता, संगठनप्रतिको योगदान एवं उत्कृष्ट कार्यदक्षताका आधारमा मिसनमा छनोट भएर समस्याग्रस्त मुलुकमा शान्ति कायम गर्ने कार्यमा सहयोग पु¥याउन खटिने एपीएफ अधिकृत तथा जवानहरुले ताकिएको जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट अक्षरस पुरागरी सकुशल स्वदेश फर्किनेमा आफू विश्वस्त रहेको कुरा समेत सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले बताउनुभयो ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक हरिशंकर बुढाथोकीको कमाण्डमा एकवर्षे कार्यकालका लागि अनमिस मिसन साउथ सुडानमा खटिएको सो टोलीमा अधिकृत, बिल्लादार तथा जवान गरी कूल एक सय ८१ जना रहेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेम कुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*