आगोले सिध्यायो २१ वटा घर
काठमाडौं, १४ माघ । मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा २१ वटा घर जलेर नष्ट भएको छ । साथै ती घर बाहेकका अन्य स्थानमा समेत आगलागी हुँदा करिब ७१ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको छ । कतिपय स्थानमा विद्युत सर्ट भएर आगलागी हुनुका साथै कतिपय स्थानमा घरको भान्सा मात्र जलेको छ ।
रोल्पाको सुवर्णावती गाउँपालिका–१ पञ्चकोटी बस्ने नरीमा घर्तीको घरमा शनिबार आगलागी भई उक्त आगो बस्तीमा फैलिएर घर्ती समेत ७ जनाको ७ वटा घर जलेर नष्ट भएका छन् । सोही ठाउँ बस्ने नरेन्द्र पुनको छोरा ६ वर्षीय आइस पुन आगोले जलेर घाइते भएकोले उपचारको लागि स्वर्गद्वारी मेडिकल प्युठान पठाइएको छ ।
मोरङको लेटाङ नगरपालिका–२ फडानी बस्ने श्याम बुढाथोकीको गोठमा गाईलाई खोले पकाउने क्रममा शनिबार आगलागी हुँदा गोठ जलेर करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । यसैगरी मोरङकै बेलवारी नगरपालिका–१० भाउन्ने जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा झापाको गौरादह नगरपालिका–१ बस्ने ३२ वर्षीय बद्री ढकालले चलाएको का.१ च २७५८ नम्वरको मारुती भ्यानमा शनिबार करेन्ट सर्ट भई आगलागी हुँदा करीब ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै मोरङकै कानेपोखरी गाउँपालिका–६ शिवटोल बस्ने युवराज खड्काको भान्साघरमा शनिबार आगलागी हुँदा भान्साघर जलेर नष्ट भई करीब २ लाख ६८ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । हुम्लाको सर्केगाड गाउँपालिका–७ स्थित कार्कीबाडा गाउँमा शनिबार आगलागी भई बस्तीमा फैलिँदा १२ वटा घरहरु जलेर नष्ट भएका छन् ।
तेह्रथुमको लालिगुराँस नगरपालिका–६ बस्ने ६८ वर्षीय पुरनध्वज लिम्बुको घरमा शनिबार आगलागी भई लिम्बुको घर र छिमेकी चेतन लिम्बुको समेत घर जलेर करीब ४ लाख २२ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । बर्दियाको गुलरिया नगरपालिका–६ स्थित दानिस हास्मीको फेन्सी पसलमा शनिबार बिजुली सर्ट भई आगलागी हुँदा करीब ४५ लाख रुपैयाँ बराबरको कपडा जलेर नष्ट भएको छ ।
त्यस्तै पर्साको पर्सागढी नगरपालिका–३ बनियार बस्ने ५० वर्षीय रामसुरत महतोको आमोदेवी प्लाष्टिक फ्याक्ट्रीमा आइतबार आगलागी हुँदा करीब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानियबासी तथा दमकलको सहयोगमा सबै स्थानको आगलागी नियन्त्रणमा लिई घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
