सिमभञ्ज्याङमा पर्यटकलाई मस्ती, स्थानीयलाई सास्ती, बस्ने ठाउँ नपाएर यात्रु अलपत्र
–मञ्जरी बलामी
थाहा नगर, १३ माघ । अचानक परेको बर्षाद पछि मकवानपुरको उत्तरी क्षेत्र थाहानगरपालिकाको सिमभञ्ज्याङ र दामनमा बुधबार भारी हिमपात भएसँगै त्यस क्षेत्रमा हिउँ खेल्न जाने पर्यटकको संख्या शनिबार झन बढेको छ । बुधबार बिहानैबाट सामान्य हिमपात भए पनि दिउसो ३ बजेबाट एक्कासी भारी हिमपात हुँदा हिउ खेल्न आउने पर्यटक लगायत स्थानियवासीलाई दैनिक क्रियाकलाप गर्न पनि सास्ती परेको छ । ३ दिनसम्मै हिउँ खेल्न आउने पर्यटकको संख्यामा झन बढेपछि अहिले त्यहाँका होटल तथा लजहरु समेत भरिभराउ भएको छ भने पर्यटकहरुलाई बस्न ठाउँको समेत अभाव भएको छ ।
वि.सं. २०७२ सालको भुकम्प पश्चात अस्थायी टहरामा जिवन यापन गर्दै आएका सिम भञ्ज्याङबासीलाइ अत्याधिक चिसो संगैको हिमपातले दैनिकीमा समस्या परेको छ । बढ्दै गएको चिसोले स्वास्थ्य तथा जिवनयापनमा समस्या भोग्दै गरेको बेला झन हिमपात नै भएपछि सिम भञ्ज्याङका स्थानियले कस्टकर जिवनयापन गरिरहेका छन् ।
हिमपातले गर्दा थाहा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटन बढेको छ । हिउँ खेल्नकै लागि बाह्य पर्यटकहरु आएपनि थाहा नगरमा भएका होटलहरु ब्यवस्थित नहुँदा पर्यटकहरु अलपत्र परेका छन । बुधवार दिउँसो ३ बजे देखि साझ ५ः३० सम्म निरन्तर रुपमा भएको भारि हिमपातले सडकमा सवारी आवागमन हुन समस्या भएपछि पर्यटकहरु अलपत्र परेका छन् । माघ ४ गतेदेखि हेटौंडा–सिस्नेरी–काठमाण्डौ सडक अवरुद्ध हुँदा त्रिभुवन राजपथ हुँदै आएका दर्जनौ सवारी साधन सडकमै अलपत्र परेका छन् । तर अहिले भने सिस्नेरीको बाटो खुलिसकेको छ ।
दामन सिमभञ्ज्याङ्मा भएका शंकर होटल, पानारोमा रिसोर्ट, सुनगाभा रिसोर्ट लगायत अन्य होटलहरुमा पर्यटकहरु भरिभराउ रहेको रिसोर्टका संचालकहरुले बताएका छन् तर रातीको समयमा पर्यटकहरु बस्नका लागि होटलहरु भरिभराउ भए पछि यात्रु तथा पर्यटकहरुलाइ समस्या भएको गुनासोहरु आएको छ । पर्यटकिय क्षेत्र भनिरहँदा थाहा नगरमा आएका पर्यटकहरु अलपत्र भइ फर्किनुले थाहा नगरको पर्यटकीउ सम्भावनामा कस्तो असर पार्दछ त ? जवाफमा थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपाली भने ‘‘ थाहा नगर हाम्रो, राम्रो नगर, पर्यटकीय नगर भएकोमा दुइ मत नभएको र थाहा नगरमा भएको होटल ब्यवसायको समस्या प्रति थाहा नगरबासीहरुले र नगरपालिकाले ध्यान पुर्याई ब्यवस्थित होटलहरु पर्याप्त मात्रामा बढाउनु जरुरी रहेको छ ।’
दामन सिमभञ्ज्याङ सडक खण्डमा जमेको हिउँलाइ इलाका प्रहरीको टोलीले नुन तथा साबेलको प्रयोगमा हटाइ सवारी आवागमण सहजता प्रदान गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिरेन्द्र पासवानले जानकारी दिएका छन् ।
