सुराकीको आधारमा पिछा गरेर हेटौँडामा एक जना पक्राउ
मकवानपुर, १२ माघ । लागुऔँषध लिएर गइरहेको भन्ने सुराकीका आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौँडामा एक जनालाई पक्राउ गरेको छ ।
बुधबार अन्दाजी साढे ३ बजेको समयमा हेटौँडा –९ बस्ने वर्ष ३४ को निरोज भण्डारीले लागुऔँषध ल्याएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ना.३९ प. २१४६ नम्बरको स्कुटरमा लागुऔषध ल्याएको भन्ने सुराकी पाएपछि प्रहरीले उक्त स्कुटरलाई खोज तलास गरेको थियो । खोजतलासको क्रममा पिछा गर्दै जाँदा हेटौँडा–९ स्थित जिल्ला पशु सेवा कार्यालयको कम्पाउण्ड बाहिर स्कुटर रोकी राखेको अवस्थामा फेला पारी स्कुटर चालक भण्डारीलाई पक्राउ गरिएको हो ।
उनको शरिर खानतलासी गर्दा उनले लगाएको ज्याकेटको खल्तीमा लुकाई छिपाई राखेको नाईट्रोभेट ९ पत्तामा १३५ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ४ पत्तामा ३२ ट्याब्लेट र कोरेक्स १ बोत्तल फेला परेको साथै अन्य लागू औषधको बारेमा सोधपुछ गर्दा घरमा समेत लुकाई राखेको भनि बताएको हुँदा उनको घरमा गई घर खानतलासी गर्दा नियन्त्रित लागू औषध नाईट्रोभेट २२ पत्तामा ३३० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन १३ पत्तामा १०४ ट्याब्लेट र कोरेक्स १९ बोत्तल गरी जम्मा नाईट्रोभेट ४६५ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन १३६ ट्याब्लेट र कोरेक्स २० बोत्तल सहित पक्राउ गरीएको छ । उनलाई सम्मानित मकवानपुर जिल्ला अदालतबाट लागू औषध ऐन २०३३ बमोजिम ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
