फेवाताल संरक्षण गर्न प्रदेशसभामा प्रस्ताव लगिने

तु खबर संवाददाता
२०७४ माघ ११, बिहीबार १०:१६

पोखरा, ११ माघ । कास्की निर्वाचन क्षेत्र नं ३ (ख) का प्रदेशसभा सदस्य राजीव पहारीले फेवातालको संरक्षणका लागि आफ्नो अर्जुनदृष्टि रहने बताउनुभएको छ ।

बुधबार यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले स्थानीय, प्रदेश एवं केन्द्र सरकारको संयुक्त प्रयास एवं सरोकारवाला निकायको सहभागितामा फेवाताललाई पूर्ववत् अवस्थामा फर्काउने बताउनुभयो ।

दिनप्रतिदिन फेवाताल साँघुरिँदै जानुका साथै प्राकृतिक एवं मानवीय अतिक्रमणको शिकार बनेको बताउँदै उहाँले यसलाई बचाउन हर्पन खोलामा चेक ड्याम निर्माणका साथै जग्गाको वास्तविक सीमाङ्कन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

फेवातालको संरक्षणका लागि करिब रु छ अर्ब लाग्ने देखिएको उल्लेख गर्दै उहाँले यसलाई राष्ट्रिय गौरवको स्थलका रुपमा संरक्षण एवं विकास गर्नुपर्ने बताउनुभयो ।

प्रतिवर्ष एक लाख ४२ हजार मेट्रिक टन माटो तथा झारपातजन्य वस्तु थुप्रिन जाँदा फेवाताल पुरिँदै गएको बताउँदै उहाँले यस क्रमलाई रोक्न नसके आगामी ३० वर्षमा नै तालको अस्तित्व नै समाप्त हुने खतरा रहेको उल्लेख गर्नुभयो ।

प्रदेशसभाको पहिलो बैठकमा नै फेवातालको संरक्षणको विषयलाई सार्वजनिक महत्वको प्रस्तावका रुपमा लैजाने बताउँदै उहाँले भन्नुभयो, “मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचना हटाउन महानगरपालिकाले पहल गर्नुपर्छ ।” रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*