कालीगण्डकी करिडोरको कुस्मा–मिर्मी खण्डको ट्रयाक असारभित्रै

तु खबर संवाददाता
२०७४ माघ १०, बुधबार १४:०४

फलेवास, पर्वत, १० माघ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको कुस्मा–मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्र्याक खोल्ने कार्य सकिने भएको छ ।

करिडोरको मिर्मी–कुस्मा खण्डमा पर्वतको मुडिकुवादेखि अर्मादी र स्याङ्जाको मोहनडाँडादेखि मिर्मी सम्मको थोरै भूभागमा बाँकी रहेको ट्र्याक खोल्ने काम असार सम्ममा नै सक्न लागिएको हो । करिडोरको मिर्मी–कुस्मा खण्डमा झण्डै दुई किलोमिटर मात्रै सडकमा ट्र्याक खोल्न बाँकी रहेको छ ।

भारतसँगको सिमाना सुनौलीदेखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्लासम्म पुग्ने गैँडाकोट–मिर्मी–फलेवास–जोमसोम–कोरल्ला सडक ३७७ किलोमिटर लामो छ । सेतीवेणी–मिर्मी खण्डमा पर्ने पिँडीखोलाको ठूलोखोलादेखि मिर्मी सम्मको सय मिटर कठिन पहरोमा ट्र्याक खोल्न बाँकी छ भने पर्वतको मोदीवेणीदेखि अर्मादीसम्म मात्रै डेढ किलोमिटर मिटर ट्र्याक खोल्नका लागि काम भइरहेको छ ।

“थोरै मात्र ट्र्याक खोल्न बाँकी छ, यसै वर्षभित्र खोलिसक्ने गरी काम अगाडि बढाइएको छ”, करिडोरको गैँडाकोट–राम्दी–मालढुंगा आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले भन्नुभयो । मोदीवेणी र मोहनडाँडा मिर्मी खण्डको पहरोमा ट्र्याक बनाउन विस्फोटन गर्नुपर्ने आवश्यकता भएकाले नेपाली सेनाको सहयोग लिनुपर्ने देखिएको छ । कालीगण्डकी करिडोरमा कालीगण्डकी पश्चिममा पाल्पा–गुल्मी–बागलुङ खण्डमा सडकको अधिकांश ट्र्याक नेपाली सेनाले खोलेको छ भने विभिन्न खोलामा बेली ब्रिज बनाउने कामसमेत सम्पन्न गरिसकेको छ ।

पर्वत खण्डमा भने ठेकेदारले समयमा काम नगर्दा गत वर्ष नै ट्र्याक खोल्ने भनिए पनि अझै काम हुन सकेको छैन । अहिले फलेवास नगरपालिकाको मुडिकुवादेखि अर्मादी खण्डमा ट्र्याक खोल्ने काम भइरहेको छ । मोहनडाँडादेखि मिर्मीसम्म विस्फोटन गर्नुपर्ने भएकाले सेनाले सहयोग नगरेसम्म काम अधुरै छ । आयोजना कार्यालयका अनुसार फलेवासदेखि अर्मादी सम्मको सडकको ट्र्याक खोल्ने काम असार सम्ममा सक्ने लक्ष्य छ ।

रानीपानीदेखि फलेवाससम्मको २२ किलोमिटर सडक चक्लाबन्दी गरी ग्राभेल स्ट्याण्डर्डको बनाउन टेण्डर आह्वान भइसकेको छ । त्यसका लागि रु ३९ करोड ३० लाख बजेट विनियोजन भएको छ ।

अहिले पनि मोदीखोला, लमायखोला र सेतीखोलामा पक्कीपुल निर्माणका लागि काम शुरु भएको छ भने आँधीखोलामा पुल निर्माणका लागि टेण्डर आह्वान गर्न अन्तिम चरणमा रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो । “सडकको धेरै क्षेत्रमा काम भइरहेको छ, बजेटको पनि अभाव छैन”, उहाँले भन्नुभयो, “भूगोल र ठेकेदारका कारण कहिलेकाहीँ समस्या आएको छ”, उहाँले ठेकेदारलाई दबाब दिएर पनि लक्ष्यअनुसार समयमा काम सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभयो ।

कालीगण्डकी करिडोरको पर्वत–मिर्मी खण्ड जम्मा ५५ किलोमिटर छ भने बागलुङ–गुल्मी–पाल्पा खण्ड यो भन्दा झण्डै ३० किलोमिटर बढी छ । पर्वत खण्डमा समयमा पुल र सडकको काम सक्ने हो भने उत्तर दक्षिण आउने सवारी साधनले यही मार्ग प्रयोग गर्ने सम्भावना छ । कालीगण्डकी करिडोरको पर्वत खण्डका लागि निरन्तर अभियान चलाइरहेका प्रदेशसभा सदस्य विकास लम्साल यो खण्डको काम जुनसुकै हालतमा पनि समयमा पूरा गराउने बताउनुभयो ।

“कुस्मा–मिर्मी खण्डमा पुल र सडक निर्माणका लागि निरन्तर दबाब र अनुगमन जारी रहन्छ”, उहाँले भन्नुभयो, “समयमा नै काम सम्पन्न गर्न बजेटदेखि प्रक्रियागत ढिलाइ हुन दिइने छैन ।”

पर्वतका प्रतिनिधिसभा सदस्य पदम गिरीले पनि करिडोरको कामलाई जुनसुकै हालतमा पनि सम्पन्न गराउन बजेटको कमी हुन नदिने बताउनुभयो । ठेकेदारका कारण ढिलाइ हुने अवस्थामा नेपाली सेनालाई जिम्मा दिएर पनि काम अघि बढाउनुपर्ने उनको धारणा छ ।

गिरी सहितको टोलीले बागलुङ–गुल्मी खण्डमा नेपाली सेनाले गरेको काम अवलोकन गरेर फर्केको छ । अवलोकनका क्रममा नेपाली सेनालाई जिम्मा दिएमा सोचेको भन्दा छिटो र गुणस्तरीय हुने देखिएको उहाँले बताउनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*