गौचनलाई गोली हान्ने बागमारे यसरी समातिए
काठमाडौं, १० माघ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनलाई गोली प्रहार गरी हत्या गरेको घटनामा प्रत्यक्ष संलग्न भएका बाराको गढीमाई नगरपालिका–१ पथलैया घर भई चितवनको भरतपुर महानगरपालिका–१३ चम्पानगर डेरा गरी बस्ने ३२ बर्षीय बागमारे भन्ने श्याम बहादुर गोम्बी गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले गुरुङ्गलाई सोमबार उनकै डेरा कोठाबाट पक्राउ गरेको हो । गुरुङ्ग गत असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनलाई गोली प्रहार गरी हत्या गरेको घटना तथा २०७३ पुस ४ गते रुपन्देहीको देवदह खैरहनीमा दुर्गा तिवारीलाई गोली प्रहार गरी हत्या गरेको घटनामा प्रत्यक्ष रुपमा संलग्न भएको खुल्न आएको छ ।
गुरुङ्गलाई आवश्यक कारबाहीको लागि मंगलबार महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको छ ।
