भिमफेदी कारागारमा एचआईभी र हेपाटाईटिसका बिरामी, अधिकांश कैदी छाला तथा हाडजोर्नीका रोगी
भिमफेदी, ९ माघ । मकवानपुरको भिमफेदी गाउँपालिकामा अवस्थित क्षेत्रिय कारागार भीमफेदीमा एक दिने निःशुल्क स्वास्थ्य परिक्षण शिबिर सञ्चालन भएको छ । शिबिरमा अधिकांश छाला रोगी तथा हाड जोर्नी रोगी भेटिएको बताइएको छ । साथै अति जोखिममा रहेको एचआईभी एड्स र हेपाटाईटिसका रोगबाट पनि धेरै जना ग्रसित भएको पाइएको छ ।
क्षेत्रिय कारागार भिमफेदीका प्रशासन प्रमुख जेलर मातृका प्रसाद दाहालको अध्यक्षता तथा भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम सहित भएको शिविरमा चुरे हिल अस्पतालका चिकित्सक प्राविधिक डाक्टरसहित छतिवन प्राथमिक स्वास्थ्य केन्द्र, भिमफेदी प्राथमिक स्वास्थ्य केन्द्र र भरतपुर मेडिकल कलेजबाट ओ.जे.टी.मा रहेका नर्सहरु गरी १२ जनाको टोलीले शिविरमा स्वास्थ्य परिक्षणमा सघाउ पुराएको भिमफेदीबाट संचारकर्मी सुरेन्द्रराज थीकेले जानकारी दिए ।
नारी सिप श्रृजना केन्द्र मकवानपुरले ह्याण्डीक्याप इण्टरनेसनलको समन्वयमा सञ्चालन गरेको शिविरमा ३ सय ८४ जनाको स्वास्थ्य परिक्षण गराएको भिमफेदी गाउँपालिका स्वास्थ्य संयोजक ध्रुव लामिछानेले बताए । नारी शिपकी अध्यक्ष उमा सुबेदीको उपस्थितमा कार्यक्रम संचालन भएको हो ।
