बसाइँ सराइले रित्तिँदै गाउँ

तु खबर संवाददाता
२०७४ माघ ९, मंगलवार १४:३२

बागलुङ, ९ माघ । ढकमक्क फूलले छोप्ने आँगनमा घाँस झाँगिएको छ । कलकल पानी बहने धारामा कमिला डुल्दछन् । पिँढी ओध्रिएर बाख्रा बाँध्ने थरी थस्तो देखिन्छ । रातो माटोमा टल्कने भित्ता उजाडिएको छ ।

झ्यालढोकाले असली रुप फेरेका छन् । छानो चुहिने भएको छ । वर्षौंदेखि न आगो न उज्यालो । एउटा यस्तै उदास घर छ । गलकोट नगरपालिका–७ मल्म, कोलमा । कैयौँलाई पाले, हुर्काएको घर आज किन एक्लो छ रु मेहनत र पसिनाको जगमा उठेको घर किन मानिसदेखि पर छ रु

कुनैबेला दुःख, सुख बिसाउने आँगन किन आफैँ रोगी छ रु घरमात्रै होइन, गोठ, बारी अलि परका खर्क, खलिआन सबै उस्तै छन् । त्यही उदास घरजस्तै । हिजो हराभरा लाग्ने घर आज कुनै आदिम गल्ली जस्तो सुनसान छ ।

यस्ता कैयौँ घर छन्, जसले गाउँ रित्तिँदै गएको भान दिलाउँछन् । जति माथि–माथि चढ्यो उति यस्तै–यस्तै घर । साविक मल्म गाविस– ९ को खाली गाउँ, आधा दशकदेखि लगभग खाली छ । यहाँ चलेको बसाइँ सराइको हावाले मल्मका अन्य बस्ती र टोललाई छोएको छ ।

भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण बेँसी र शहर झरेपछि गाउँ रित्तिँदै गएको हो । बसाइँ सराइ मल्मको अहिले मुख्य चुनौती बनेको छ । आर्थिक, सामाजिक, राजनीतिक रुपमा सबल र सचेत भएर पनि नगरपालिकाभित्रैको मल्मले किन चरम बसाइँ सराइ भोगिरहेको छ त रु धेरैको बुझाइ छ, मानिस सुविधाभोगी भए । मल्म, कोल ९हाल चितवन० बस्ने राजकुमारी थापाको जवाफ मिल्दोजुल्दो छ ।

“छोराछोरी सुविधा भएको ठाउँमा बस्न खोजे, सुविधाको खोजीले यस्तो भएको हो”, उहाँले भन्नुभयो, “बाध्यताले जहाँ गए पनि आफ्नो थलो बिर्सन सकिन्न ।”

चाडबाडका बखत मल्म आउनुभएकी थापाले घरजग्गा भने नबेचेको बताउनुभयो । छोराछोरी सबै विदेश भएपछि घरखेत गरेर खाने कोही नभएको उहाँको गुनासो छ । थापाका एक छोरा अमेरिका र अर्का जापानमा कार्यरत हुनुहुन्छ । कान्छो छोरा र नातिनातिनासहित थापा अहिले चितवनमा बस्दै आउनुभएको छ ।

मल्मको उपल्लो भेगका बासिन्दामा सुविधाको ठाउँ सरेर जाने प्रवृत्ति अहिले पनि उस्तै छ । मध्यपहाडी लोकमार्ग र बेँसी आसपासमा भने बसाइँ सराइले उति ठूलो प्रभाव पारेको छैन ।

गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा बढीजसो शहरी क्षेत्रमा बसाइँ सराइ गर्ने गरेको वडाध्यक्ष टीकाबहादुर थापाले बताउनुभयो । व्यक्तिको आर्थिक हैसियतअनुसार बसाइँ सराइको प्रवृत्ति निर्धारण हुने गरेको उहाँको बुझाइ छ ।

“कोही लेकबाट बेँसीमा झरेका छन्, कोही बेँसीबाट पनि बजार क्षेत्रमा आएका छन्”, उहाँले भन्नुभयो, “सक्नेले जिल्ला नै छाडेर पोखरा, काठमाडौँ र तराई पुगेका छन् ।”

गत वैशाखमा निर्वाचित भएर आएयता भने कसैले पनि बसाइँ सराइको कागज नलिएको अध्यक्ष थापा बताउनुहुन्छ । अधिकांशले घरजग्गा बेचेर औपचारिक बसाइँ सराइ नगरी त्यसै रित्तो र बाँझो छाडेर अन्यत्र गइरहेका छन् ।

अध्यक्ष थापाका अनुसार कुनै समय खाली डाँडामा बस्ती बसेपछि नामकरण गरिएको मल्मको खाली गाउँ अहिले बसाइँ सराइले रित्तिएको छ । मल्मको खाली, टोकरी, झिर्कामा बसाइँ सराइ गरेर अन्यत्र जानेको संख्या बढी छ । अन्य गाउँ, टोलमा पनि कैयौँ घर बसाइँ सराइका कारण रित्ता छन्, खेतबारी बाँझै छन् । नमिठो विडम्बना अर्को पनि छ, गाउँमा । मानिस बसेका घरमा पनि बूढाबूढी र बालबालिका छन् । वैदेशिक रोजगारीले युवा जमात विदेशमा छ । विदेशको कमाइले आर्थिकस्तर फेरेका मल्मवासीलाई बसाइँ सराइ रोज्न सहज बनाइदिएको छ ।

अगुवाहरुका अनुसार मल्मका लगभग प्रत्येक घरबाट छोराछोरी, बुहारी जापान पुगेका छन् । अन्य तेस्रो मुलुक र भारतीय सेनामा कार्यरतको संख्या पनि उत्तिकै छ । पैसा कमाउने मोहले पनि युवालाई गाउँ बिर्सन बाध्य पारेको स्थानीय समाजसेवी दुर्गाबहादुर थापा बताउनुहुन्छ । उहाँले आफ्नै उमेरमा दर्जनौँ घरधुरी अन्यत्रै बसाइँ सराइ सरेर गएको बताउनुभयो ।

“पैसा कमाउने, राम्रो ठाउँमा सुविधा लिएर बस्ने सोच सबैमा छ”, उहाँले भन्नुभयो, “गाउँमा दुःख र परिश्रम गरेर कोही बस्न चाहन्न ।” कतिपयले त घरजग्गा त्यत्तिक्कै छोडेर गएको उहाँको भनाइ छ ।

प्रायःले विदेश गएर पैसा कमाउने र शहरबजारमा घरघडेरी जोड्ने उद्देश्य राख्ने गरेका छन् । गाउँ छोडेर शहर रोज्नुको अर्को मीठो बहाना छ, बालबच्चाको भविष्य । गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सके बसाइँ सराइलाई कम गर्न सकिने गलकोट नगरपालिकाका प्रमुख गैरेले बताउनुभयो ।

“गाउँलाई समृद्धिमा लाने र स्वरोजगारको वातावण सिर्जना गरियो भने बसाइँ सराइलाई तुलनात्मक रुपमा घटाउन सकिन्छ”, उहाँले भन्नुभयो, “स्थानीय सरकार बनेको अवस्थामा अब गाउँप्रति आकर्षण बढ्छ ।”

राज्य पुनःसंरचनासँगै बनेको स्थानीय तहले गाउँको विकास हुने अपेक्षा गरे पनि विश्वस्त भइहाल्ने वातावरण छैन । मल्ममा मात्र नभएर सिंगो गलकोट नगरपालिकासहित जिल्लामै बसाइँ सराइ बढ्दो छ । समाज विकसित अवस्थामा पुगेमात्र बसाइँ सराइजस्ता समस्याको हल हुने प्रमुख गैरेको बुझाइ छ ।

“समाज उन्नत र विकसित भए मान्छेले आफ्नो थातथलो छोड्न चाहँदैन”, उहाँले भन्नुभयो, “बसाइँ सराइँ घटाउन राज्यले योजना र कार्यक्रम बनाउनुपर्छ ।”

बसाइँ सराइसँगै गाउँको उत्पादन पनि ह्वात्तै घटेको छ । खेतीयोग्य जमिन बाँझै पल्टिएका छन् । दैनिक उपभोग्य सामानका लागि बजारमाथि निर्भर रहनुपर्ने अवस्था छ । बसाइँ सराइ बढ्दै जाँदा त्यसले सामाजिक संरचनामा पनि प्रभाव पार्ने देखिन्छ । जिल्ला तथ्याङ्क कार्यालयसँग आन्तरिक बसाइँ सराइको कुनै लेखाजोखा छैन ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लाबाट विदेशमा गएकाको संख्या ४२ हजार ३२३ छ । आर्थिक र सामाजिक कारणले बसाइँ सराइ बढिरहेको कार्यालयका तथ्याङ्क अधिकृत मुकुन्दप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार ग्रामीण भेगबाट शहरतिरको बसाइँ सराइ बढ्दो छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*