गाउँपालिका अध्यक्षनै ‘ब्याक’ मा बसेर हेटौंडा सिमेन्टको खानी बन्द गराउँदै
मकवानपुर, ९ माघ । हेटौंडा सिमेन्ट उद्योगको कच्चा पदार्थ मजुवाखानीबाट उठाउन नदिएपछि त्यहाँ मजुवाखानी उत्खनन्का लागि ३ महिनाअघिदेखि मेसिन तथा औजार अलपत्र छ । हेटौंडा सिमेन्टले कानून अनुसार, कच्चा पदार्थ उत्खनन्को लागि बानियाँ/ओम साई जेभीलाई अनुमति दिइसकेको छ । टेन्डर प्रकृयामार्फत् अनुमति पाएपनि बानियाँ/ओम साइ जेभीले कच्चा पदार्थ उत्खनन् र ढुवानी गर्न सकिरहेको छैन ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाई स्थानीयको अवरोधका कारण कच्चा पदार्थ उत्खनन् गर्न नसकिएको बताउँछन् । यहाँ स्थानीयको समस्या छ, त्यसको समाधान नभएसम्म जनताले उत्खनन् गर्न दिइरहेका छैनन, उनले तु खबरसँग भने । तर, खासमा गाउँपालिकाका अध्यक्ष हुमागाईको व्यक्तिगत स्वार्थ यसमा जोडिएको छ । उनले ब्याकमा बसेर मजुवाखानीमा उत्खनन्को कार्य रोकेको स्रोत बताउँछ । ठेक्का पाएको कम्पनीका एक्साभेटर, लोडर, टिपरजस्ता सवारीसाधन महिनौँदेखि खानी क्षेत्रमा अलपत्र परेको भन्दै ठेकेदार कम्पनीले दैनिक २ लाख भन्दा बढीको क्षति पुगेको बताउँदै आएको छ ।
हेटौंडा सिमेन्टले भने आफ्नो नामको जग्गामा अनधिकृत रुपमा मानिसहरु बसोबास गरी समस्या बढाएको बताएको छ । उनीहरुलाई त्यहाँबाट हटाउने तर्फ सबै पक्षको सहयोगको अपेक्षा सिमेन्ट उद्योगलले राखेको छ । ठेकेदार कम्पनीले भने यो खानी संचालनका लागि आवश्यक वातावरण बनाइदिन मकवानपुरका प्रशासन, राजनीतिक दल तथा स्थानीय निकायलाई बारम्बार आग्रह गर्दा पनि सुनुवाई नभएको जनाएको छ ।

मजुवाखानीबाट कच्चा पदार्थ ल्याएर हेटौंडा सिमेन्टले सिमेन्ट उत्पादन गर्न चाहिरहेको छ । यो खानी क्षेत्र हेटौंडा सिमेन्टकै स्वामित्वमा छ । सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने गाउँपालिका अध्यक्ष यो प्रकरणमा गैरजिम्मेवार देखिएका छन् । जिल्ला समन्वय समितिले पनि यस बिषयमा छलफल गराउन कोसिस गरिरहेको छ । तर, अध्यक्ष हुमागाईले समय नदिएपछि समन्वय समिति पनि अलमलमा छ । गाउँपालिका अध्यक्ष हुमागाई विद्यालय र सडकको स्तरउन्नतिका लागि बजेट उपलब्ध गराउनुपर्नेे अडानमा छन् । सिमेन्ट उद्योगले सो माग बमोजिम विद्यालय र सडकको लागि आवश्यक बजेट करीव ३ करोड रुपैयाँ छुट्याइसकेको छ । बार्षिक रुपमा केही बजेट दिन पनि सिमेन्ट उद्योग तयार छ । तर, के कारणले हो गाउँपालिका अध्यक्ष हुमागाई मजुृवा बन्द गराउन उद्यत छन् , स्रोतले भन्यो ।

गाउँपालिकाभित्र समस्या देखिएपछि त्यसलाई गम्भीर तरिकाले सुल्झाउन समय दिनुपर्ने अध्यक्ष हुमागाई आफै पन्छिएपछि ठेकेदार कम्पनी तनाबमा छ । खासमा हामीले कानून बमोजिम टेन्डर प्रकृयामार्फत् ठेक्का प्राप्त गरेका हौँ, त्यसबाट उत्खनन् र ढुवानीको आवश्यक वातावरण सिमेन्ट उद्योगले बनाइदिनु पर्ने हो, त्यसो हुन सकिरहेको छैन, कम्पनीका प्रबन्ध निर्देशक होमनाथ गौतमले भने । उनका अनुसार, यदि खानी संचालनमा आउन नसक्ने हो भने सिमेन्ट उद्योगसँग क्षतिपूर्ति दावी गरिनेछ ।
निकै संकटपूर्ण अवस्थामा संचालनमा रहेको हेटौंडा सिमेन्टको हालत हेटौंडा कपडा उद्योगजस्तै बन्ने देखिएको छ । जतिसक्दो छिटो खानी संचालनमा ल्याउन आफूहरु लागिपरेको हेटौंडा सिमेन्टका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए । स्थानीय प्रशासन लगायत सरोकारवालासँग यससम्बन्धमा छलफल भइरहेको उनले बताए । मकवानपुरका राजनीतिक दल, प्रशासन र स्थानीय तहले यस विषयमा आवश्यक पहल लिनु जरुरी देखिएको छ ।
