गाउँपालिकाको भवनका लागि जग्गा उपलव्ध

तु खबर संवाददाता
२०७४ माघ ९, मंगलवार १०:१३

बाबियाचौर, म्याग्दी, ९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र रहेको ६ नम्बर वडामा पर्ने पोखरेबगरका बासिन्दाले गाउँपालिकाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका छन् ।

सोमबार पोखरेबगरमा भएको टोल भेलाले गाउँपालिकाको भवन निर्माणका लागि १४ रोपनी चार आना जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । खड्ग गिरीको अध्यक्षतामा गठन भएको सात सदस्यीय टोल विकास समितिले आयोजना गरेको छलफलमा हाल गाउँपालिकाको कार्यालय रहेको भाडाको घरभन्दा पछाडि पुरानो बाटोको छेउमा रहेको जग्गा उपलब्ध गराउने सहमति जुटेको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

नौ रोपनी पर्ति (सार्वजनिक) र सोसँगै जोडिएको पाँच रोपनी चार आना निजी जग्गा गाउँपालिकालाई उपलब्ध गराउने टोल भेलाले निर्णय गरेको हो । टोल भेलाको निर्णयअनुसार जग्गा प्राप्ति प्रक्रिया अघि बढाउने र भवन निर्माणका लागि प्राथमिकता दिने गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । हाल अन्नपूर्ण गाउँपालिकाको कार्यालय भाडाको घरबाट सञ्चालन हुँदै आएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*