मजुवाखानीमा स्थानीयको अवरोधपछि टेण्डर प्राप्त संस्था दैनिक लाखौँको घाटामा

तु खबर संवाददाता
२०७४ माघ ८, सोमबार १८:१५

मकवानपुर, ८ माघ । हेटौँडा सिमेन्ट उद्योगको मजुवाखानीमा स्थानीयले उत्खनन् कार्य रोकेपछि उत्खनन गर्न अनुमति प्राप्त संस्थालाई दैनिक रुपमा लाखौँको घाटा परेको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले सो विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

संघको सदस्य संस्था बानियाँ÷ओम साई जेभीले हेटौँडा सिमेन्ट उद्योगसँग मजुवाखानीबाट चुनढुङ्गा उत्खनन् तथा ढुवानीको लागि मिति २०७४ कात्तिक ६ गते प्रचलित कानुन अनुसार टेण्डर प्रक्रियामार्फत सम्झौता गरेकोमा स्थानीयको अवरोधका कारण सो कार्य संचालन गर्न नसकेको भन्दै निर्माण व्यवसायी संघलाई उक्त वातावरण बनाईदिन आग्रह भएबमोजिम संघको ध्यानाकर्षण भएको संघद्वारा आज जारी भएको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

स्थानीयको अवरोधपश्चात हेटौँडा सिमेन्ट उद्योग, सम्बन्धित गाउँपालिका र स्थानीय प्रशासनलाई लिखित तथा मौखिक रुपमा समस्या समाधानका लागि पहल गर्न आग्रह गरिएता पनि वातावरण बन्न नसकेपछि टेण्डर प्राप्त संस्थालाई दैनिक २ लाख १ हजार १ सय रुपैयाँ घाटा परेको बताइएको छ । साथै कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग समेत मारमा छ ।

मजुवा खानी क्षेत्रमा करिब एक महिनादेखि परिचालित उत्खनन्का साधनहरु समेत संचालन गर्न नसकिएपछि उचित वातावरण निर्माण गर्न निर्माण संघले सबै राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन, पत्रकार लगायत सबैसँग आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*