गौतमबुद्धको जन्मस्थलबारे भ्रम चिर्न दुई युवती सगरमाथा आरोहणमा

तु खबर संवाददाता
२०७४ माघ ८, सोमबार १५:०९

चरिकोट, ८ माघ ।  गौतमबुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले दुई युवतीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।

दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला तामाङले केही देशमा अहिले पनि गौतमबुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेकाले उनी नेपालमै जन्मिएका हुन् भने सन्देश प्रबाह गर्न सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको बताउनुभयो ।

उहाँहरुले आगामी चैत २५ गतेबाट पाएनियर एड्भेन्चर प्रालि कम्पनीको प्रायोजनमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको झण्डासँगै नेपालको झण्डा र धीरज राईले गाएको ‘बुद्ध वाज बर्न इन नेपाल’ बोलको गीत एक मिनेट सर्वोच्च शिखरबाटै बजाएर विश्वलाई सुनाउने योजनासमेत रहेको आरोहण दलकी सदस्य छोकी शेर्पाले जानकारी दिनुभयो ।

छोकीले पत्रकार सम्मेलनमा भन्नुभयो, “वैदेशिक रोजगारीको शिलशिलामा चार वर्ष दक्षिण कोरिया बस्दा बौद्धमार्गीलाई गौतमबुद्ध नेपालमा जन्मेको नभई भारतमा जन्मेको भन्ने भ्रम रहेकाले सो भ्रम चिर्न सगरमाथा आरोहण गर्न लागिएको हो । ”

दक्षिण कोरियाको पाठ्यपुस्तकमा हालसम्म पनि बुद्ध भारतमा जन्मेको भन्नेकुरा त्यहाँका बालबालिकाले पढिरहेको बताउँदै उहाँले दक्षिण कोरिया, भियतनाम र चीनका केही स्थानमा साथीहरुसँगको भेटमा पनि उनीहरुमा बुद्धको जन्मबारे भ्रम रहेको पाइएकाले वास्तविक जानकारी गराउन आफू सगरमाथा आरोहण गर्न लागेको हो भन्नुभयो ।

आफै पनि वैदेशिक रोजगारबाट फर्केको र विदेशमा गएर विभिन्न हिंसामा प्रताडित नेपाली दिदीबहिनीलाई आफ्नै देशमा फर्किएर देशकै पर्यटन विकास र रोजगारी सिर्जना गर्ने अभियानमा जुट्न प्रयास गर्ने चाहना रहेको छोकीले बताउनुभयो ।

उहाँहरूलाई भ्रमणका लागि केही सामग्री खरिद गर्न केही संस्थाले सहयोग गरेपनि आर्थिक अभाब भएकाले थप सहयोगका लागि विभिन्न संघ संस्थाका साथै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अपिलसमेत गर्नुभएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*