हेटौँडामा वाईबा वंशावली’ विमोचन
मकवानपुर, ८ माघ । तामाङ समुदायभित्रका वाईबा थरको बारेमा संक्षिप्त जानकारी सहितको ‘वाईबा वंशावली’ नामको पुस्तक आईतवार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । हेटौंडा–१५ रातोमाटेमा तामाङ संस्कार सुधार समिति अन्तर्गतको वाईबा गुठीद्वारा आयोजित कार्यक्रममा वडा नम्वर–१५ का वडाध्यक्ष महारत्न लामाले उक्त वंशावली पुस्तकको विमोचन गरेका हुन् ।

वंशावली विमोचन कार्यक्रममा तामाङ लोक डम्फु गीत गाउँदै, तस्बिर–नवराज वाईबा
वर्तमान समयमा एउटै वंश र थरका आफ्ना आफन्तहरु छरिएर रहने क्रममा परिचित हुन कठिन बन्दै गएको हु“दा एउटै वंशभित्र परिचित हुन सहज होस् भन्ने उद्धेश्यले वाईबाहरुको संक्षिप्त वंशावली प्रकाशन गरिएको समितिले जनाएको छ । विमोचित पुस्तकले वाईबा थर सम्बन्धमा अध्ययन गर्न चाहनेकालागि संक्षिप्त रुपमा महत्वपूर्ण जानकारीहरु प्राप्त हुने समितिका उपाध्यक्ष हरि सिं वाईबाले जानकारी दिए । वंशावली विमोचन कार्यक्रममा ८५ वर्ष उमेर पार गरिसकेका ५ जना स्थानिय वाईबा वृद्धवृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
वंशावली पुस्तक विमोचन कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य तथा नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य सुनिल मोक्तान, शसस्त्र प्रहरी गण रातोमाटेका प्रहरी उपरिक्षक तुलसी प्रसाद अधिकारी, चुरियामाई गाविसका पूर्व अध्यक्ष इन्द्रमान स्याङतान, तामाङ चलचित्र संघ मकवानपुरका कोषाध्यक्ष राधिका स्याङतान लगायतको आतिथ्यता रहेको थियो ।

वंशावली विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष महारत्न लामा
कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५ का वडाध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यता तथा तामाङ संस्कार सुधार समिति अन्तर्गत वाईबा गुठी रातोमाटेका अध्यक्ष चम्फु सिं वाईबाको अध्यक्षतामा भएको थियो ।
