मकवानपुरको चिनारी झल्काउने मायाको चिनोद्वारा ३ नम्बर प्रदेशसभा सदस्यलाई सम्मान
मकवानपुर, ७ माघ । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा शपथ ग्रहणका लागि आएका सबै साँसदहरुलाई मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरको धार्मिक, ऐतिहासिक स्थलहरु अंकित मायाको चिनो प्रदान गरेको छ ।
संघका अध्यक्ष कृष्ण कटुवाल सहित बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, संघका अन्य पदाधिकारी, सदस्य लगायतले सभा सदस्यको स्वागत सहित सो मायाको चिनो सपथ ग्रहण स्थलमा वितरण गरेका हुन् ।
कार्यक्रममा जिल्लाका सबै सुरक्षा निकाय प्रमुख, स्थानीय प्रशासनका प्रमुखहरुको उपस्थिति रहेको थियो । बाजा गाजा सहित स्थानीय नागरिकहरुले उल्लासमय रुपमा हेटौंडामा प्रदेश सभा सदस्यहरुको स्वागत गरेका थिए ।
मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसदलाई प्रदेश प्रमुख अनुराधा कोईरालाको समुपस्थितिमा ३ नम्बर प्रदेश सभा सदस्य मध्य जेष्ठ सदस्य डोरमणि पौडेलले १०९ जना सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । प्रदेश प्रमुख कोईरालाले सर्वप्रथम जेष्ठ सभा सदस्य पौडेललाई पद तथा गोपनीयताको सपथ खुवाएपछि पौडेलले सो सपथ अन्य सदस्यहरुलाई खुवाएका हुन् ।
