८ वर्षदेखि अनाथालय परिवारलाई निःशुल्क उपचार गर्दै एक डाक्टर

तु खबर संवाददाता
२०७४ माघ ७, आईतवार ०९:४५

-सञ्जय मित्र
रौतहट, ७ माघ । “डा. आरबी प्रसादका अस्पतालमा यहाँका बालबालिकालाई लैजान हामीलाई केही अप्ठ्यारो लाग्छ” रौतहटको गरुडास्थित वंशीराम जयसवाल अनाथालयलाई वर्तमान अवस्थामा रेखदेख गर्ने युवक हृदयनारायण कुशवाहाको भनाइ सुनेपछि यस्तो लाग्छ केही गडबडी छ तर अलिबेर पर्खेर कुशवाहाले मनको गाँठो फुकाए – “संस्थापक बाबाजीदेखि अनाथालयमा बस्ने सबैको सम्पूर्ण बालबालिकाको उपचार गर्दा डा. आरबी प्रसादले एक पैसा पनि लिनुहुन्न ।”

गरुडा ४ मा रहेको वंशीराम जयसवाल अनाथालयका संस्थापक वंशीराम जयसवाल नै हुन् । जयसवाललाई स्थानीय सबैले बाबाजी भनेर आदरपूर्वक सम्बोधन गर्दै आएका छन् । जयसवालले आफ्नै लगानीमा आफ्नै जग्गामा २०५२ मा अनाथालयको स्थापना गरेका थिए । गरुडाका मेनरोडमा संचालनमा रहेको अनामिका हस्पिटल प्रालिका प्रमुख डा. आरबी प्रसाद अनाथालय परिवारका कुनै पनि सदस्यसित आफूले गरेको परीक्षण, अस्पतालमा उपलब्ध उपकरणबाट गरिने टेस्ट तथा अस्पताल परिसरमा रहेको औषधी पसलमा पाइने औषधी कुनैको पनि एक रुपैया लिने गरेका छैनन् । निशुल्क भनेपछि डा. प्रसादले सम्पूर्ण निशुल्क गरेर अनाथालयलाई ठूलो गुन लगाएका छन् । “यस अस्पतालबाट प्राप्त हुने सम्पूर्ण सेवा र सुविधा निशुल्क प्राप्त भइरहेकोले अनाथालयलाई ठूलो टेवा पुगेको छ” आफै बिरामी रहेका अनाथालयका संस्थापक ८४ वर्षीय जयसवाल बताउँछन् । “डा. आरबी प्रसादको अनाथालयमाथि ठूलो अनुकम्पा रहेको छ जसलाई जति धेरै र ठूलो शब्दले आभार व्यक्त गर्दा पनि कमै हुन्छ” संस्थापक जयसवालको मुखबाट यस प्रकारको शब्द निस्कँदै गर्दा उनको अनुहार र हाउभाउ सबैले आभार प्रकट गरेको देखिन्थ्यो । डा. आरबी प्रसादले आफूले चिने जानेको डाक्टर र अस्पतालमा अनाथालयमा आश्रितहरुको उपचारको लागि सकेको सुविधा प्रदान गरिदिन सिफारिश समेत गर्दै आएका छन् ।

अनाथालय चरम आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा डा. आरबी प्रसादले निशुल्क गरिदिएर अनाथालयलाई पुगेको सहयोगलाई अनाथालयले परिवारले पनि उच्च मूल्यांकन गरेको छ । हृदयनारायण कुशवाहा आभार प्रकट गर्दै भन्छन् – उनको सेवाको मूल्य कुनै पनि हिसाबले चुक्ता गर्ने क्षमता अनाथालयमा छैन । “आफ्नो अभ्यन्तरबाटै समाजसेवाको प्रेरणा प्राप्त भएको र अनाथालय परिवारको स्वास्थ्यको क्षेत्रमा कुनै समस्या हुँदा आफूले सकेको सहयोग गर्दै आइरहेको छु” डा. आरबी प्रसाद थप्छन् “अनाथालयका संस्थापक जयसवालको सेवा सामु आफ्नो कुनै मूल्य छैन ।” डा. प्रसादमा कुनै किसिमको अभिमान झल्किँदैन ।

अनाथालयका बालबालिकाको स्वास्थ्य केही कमजोर रहेको र निरन्तर बिरामी भइरहनाले बालबालिकाको स्वास्थ्योपचारमा अनाथालयको अत्यधिक खर्च भइरहेको छ । अनामिका अस्पतालमा उपलब्ध सम्पूर्ण उपचार निशुल्क छ तर त्यहाँ सम्भव नहुने उपचारको लागि बाहिर लैजानुपर्दा निकै खर्च बढेको कुशवाहा बताउँछन् । केही हप्तापहिले मात्र एक अनाथ बालकको उपचार भारतको नयाँ दिल्लीमा गर्नु पर्दा डेढ लाख रुपैयाभन्दा बढी खर्च भएको बताउँदै कुशवाहा थप्छन् – उपचारको लागि कतैबाट कोषको व्यवस्था भइदिए राम्रो हुन्थ्यो ।

बालबालिकाको स्वास्थ्यमा समस्या आइरहने मुख्य कारण चाहिँ विभिन्न परिवेशबाट आएका बालबालिका र एकै किसिमको खाना तथा रहनसहन रहेको अनुमान कुशवाहाको छ । साधारण किसिमको खाना उपलब्ध हुने हुनाले फरक क्षमता र शारीरिक आवश्यकताका बालबालिकामा स्वास्थ्य समस्या देखिएको हुनसक्ने अनुमान कुशवाहाको रहेको छ । जिल्लाको विरासत एवम् मानवताको प्रतीकको रुपमा रहेहो अनाथालयलाई आर्थिक संकटबाट जोगाउन आफूले आफ्नै किसिमले प्रयास गर्ने योजना बनाइरहेको डा. आरबी प्रसाद बताउँछन् । आफूले चिनेका केही मनकारी व्यक्तिहरुलाई अनाथालयको सम्पर्कमा ल्याउने अभियान नै सञ्चालन गर्ने योजना रहेको बताउँदै डा. प्रसाद मानवताको सेवामा निस्वार्थ किसिमले जोडिन र जुट्न सबैलाई आग्रह समेत गर्दछन् ।

आठ वर्षदेखि गुमनाम सेवा गर्दै आइरहेका डा. आरबी प्रसाद वर्तमान विश्व परिवेशमा अनाथालयलाई सहयोगको लागि लोकल र ग्लोबल प्रयासको आवश्यकता रहेको बताउँछन् । आधुनिक सुख सुविधाबाट वञ्चित रहेका र मुस्किलले जीवन यापन गरिरहेका अनाथालयका बालबालिकालाई आधुनिकतासित जोड्दै वर्तमान युगको सक्षम नागरिक बनाउन त्यसै अनुसारको शिक्षादीक्षा प्रदान गर्न डा. आरबी प्रसादको योजना सफल हुनुपर्ने आवश्यकता छ । अनाथालयको बालबालिकालाई विभिन्न संघसंस्थाले गरेको सहयोगले मुस्किलले आधारतभूत आवश्यकता पूरा भइरहेको नजिकबाट हेर्दा बुझ्न सकिन्छ । अनाथालयको स्वास्थ्यको क्षेत्रमा डा. प्रसादले गरिरहेको सेवा अमूल्य रहेको देखिन्छ । डा. प्रसादजस्तै अन्य केही मनकारी र सहयोगीको आवश्यकता अनाथालयलाई रहेको देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*