हेटौँडामा संचालित एन बजारकी संचालिकासहित ३ जना पक्राउ
मकवानपुर, ४ माघ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथमा संचालित एन बजार जनरल स्टोर्सकी संचालिका सहित भारतीय नागरिक र थप एक जना गरि ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ घर भई हाल एन बजारकी संचालिका समेत रहेकी २१ वर्षीय अस्मिता रेग्मी, भारत तमिलनाडु राज्य नैघउली घर भई हेटौँडा ४ बस्ने ल्याकत अलि खान र काठमाण्डौ जिल्ला दक्षिणकाली नगरपालिका– ८ बस्ने वर्ष ४५ का रामशरण सुबेदीलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरि अनुसन्धान थालिएको हो ।
प्रहरीका अनुसार उनीहरुले मिलिमतो गरि हेटौडा बजारमा रहेको बिभिन्न ब्यापारीहरुलाई झुक्याएर विभिन्न किसिमका कपडा, डेकोरेशनका सामाग्री लगायत अन्य सामानहरु लिई अस्मिता रेग्मीको नाममा मेघा बैक हेटौँडामा रहेको खातामा चेकबाट पैसा भुक्तानीको लागी दिएका थिए । तर पटक पटक पैसा झिक्न जाँदा उक्त खातामा पैसा नरहेको हुँदा व्यापरीहरुले प्रहरीलाई उजुरी गरेका थिए । व्यापारीहरुले उजुरी गरे अनुसार २२ लाख ७६ हजार ठगी गरेको सूचना प्राप्त भएपछि माघ २ गते नारायणी मल अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई मुलुकी ऐन ठगीको महल अनुसार कारवाही एंव आवश्यक अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएको छ । साथै पक्राउ परेका मध्ये खानले अस्मिता रेग्मीको नाममा एन बजार खोलेको पत्ता लागेको छ । उनीबाट ठगिएका अन्य मानिसहरुले समेत उजुरी दिन सुरु गरेको प्रहरीले जनाएको छ ।
