बकैया महोत्सव फागुन १६ गतेदेखि, ढिँडो खानेदेखि भाले छुनेसम्मको प्रतियोगिता
मकवानपुर, ४ माघ । जनघनत्वका आधारमा देशकै ठूलो बकैया गाउँपालिकामा आउँदो फागुन १६ गतेदेखि २७ गतेसम्म ‘प्रथम ऐतिहासिक बकैया साँस्कृतिक महोत्सव २०७४’ हुने भएको छ । बकैया गाउँपालिका वडा नम्बर ३ मा रहेको बुद्ध युवा क्लबको आयोजनामा मेला हुन लागेको आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
बकैयाको मात्र नभई पूर्वी मकवानपुरकै पहिचानको लागि भूमिका खेल्ने अपेक्षा राखिएको मेलामा करिब २ सय वटा स्टलहरु रहने आयोजकले जानकारी दिएको छ । प्रियंका कार्की, सुगम पोखरेल, दुर्गेश थापा, टिका पुनका साथै चर्चित स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवमा खुल्ला बकैया सिंगिङ स्टार तथा डान्स आईडल, खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता, खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता, ढिँडो खाने प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, भाले छुने प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता, खुल्ला लोकदोहोरी प्रतियोगिता, आमा समूह स्तरीय रत्यौली प्रतियोगिता लगायतका विभिन्न आकर्षणहरु रहने आयोजक क्लबका अध्यक्ष विजय लामा थिङले जानकारी दिए ।
महोत्सवमा पत्रकारिता जगतबाट बकैयाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पत्रकारलाई प्रथम बकैया पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने समेत जानकारी दिइएको छ । बकैया गाउँपालिका वडा नम्बर ३ हात्तिसुँडेको बकैया नदि किनारमा हुने महोत्सवलाई मकवानपुरका साथै सिन्धुली, बारा, पर्सा, रौतहट लगायतका क्षेत्रका गरि करिब १ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । करिब ५७ लाख ४२ हजार अनुमानित खर्च हुने महोत्सवका लागि आर्थिक श्रोत भने क्लबकै श्रोत र गाउँपालिकाको कार्यालयका साथै महोत्सव हेर्न आउने दर्शकले लिने टिकटबाट मिलाइने आयोजकले जानकारी दिएको छ ।
