मकवानपुरको चित्लाङमा नेपालकै अत्याधुनिक प्रविधीबाट च्याउ खेती

तु खबर संवाददाता
२०७४ माघ २, मंगलवार १९:१२

–शिव चौलागाईं
मकवानपुर, २ माघ । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती व्यवसायिक रुपमा सफल बन्दै गइरहेको छ । इन्द्रेणी मसरुम फर्मले करिब १४ रोपनी क्षेत्रफलमा सुरु गरेको च्याउ अहिले दैनिक तीन सय किलो उत्पादन भइरहेको छ । नेपालमा सामान्य प्रविधीबाट च्याउ खेती गरिदै आइएकोमा चित्लाङमा आधुनिक प्रविधिबाट खेती गरिएकाले अहिले इन्द्रेणी फर्म च्याउ खेतीका लागि स्रोत केन्द्रका रुपमा समेत मानिसले लिन थालेका छन् ।

च्याउ खेतीका लागि स्थानीय ३९ जनाले दुई–दुई लाख रुपिया लगानीबाट सुरु गरिएकोमा अहिले यसको लगानी चार करोड रुपिया पुगेको जनाइएको छ । विशेष हेरविचार आवश्यक पर्ने हुनाले च्याउ खेतीका लागि दक्ष जनशक्ति अभाव हुने गर्दछ । तर यो फर्ममा कतारमा ६ वर्ष च्याउ सम्बन्धि नै काम गरी फर्किएका माधव चौलागाईं आफ्नो शिप प्रयोग गरेर सफलता दिलाई रहेका छन् । विदेशमा लामो समय सिकेको शिप नेपालमै प्रयोग गर्दा सफल हुन सकिएको चौलागाईंको अनुभव छ । अहिले यो फर्मबाट उत्पादित च्याउ काठमाडौंमा खपत भइरहेको छ । ‘अहिले उत्पादन भइरहेको सबै च्याउ काठमाडौंमा खपत भइरहेको छ । ’ प्राविधिक चौलागाईंले भने, ‘उत्पादन क्षमता बढेको खण्डमा अन्य ठाउँमा पनि विक्री सुरु गर्न सकिन्छ । ’

कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का गाउँका कृषक तपराज भट्टले गरेको गोब्रे च्याउखेती । तस्बिर ः सिद्धराज भट्ट, कैलाली, रासस

कतारमा लामो समय च्याउ खेती गर्दा सिकेको शिप प्रयोग गर्ने अवसर इन्द्रणी मसरुम फर्ममा पाइएकोमा चौलागाईं दङ्ग छन् । भन्छन्, ‘कतिपय साथीहरु विदेशको शिप स्वदेश आएर प्रयोग गर्न लाज मान्छन् तर मलाई आफूले सिकेको शिप आफ्नै देशमा प्रयोग गर्न पाउँदा गौरवान्वित महसुस भएको छ । ’ नेपालमा विस्तारै अत्याधुनिक प्रविधिको प्रयोग गरी खेती गर्ने परम्पराको विकास हुन थालेकाले कृषिबाट पनि राम्रो आम्दानी हुन थालेको आफूले पाएको उनी बताउँछन् । ‘विदेशमा खेती शैली र प्रविधीका कारण सफलता मिलिरहेको हो ।’ उनले भने,‘नेपालमा पनि सही रुपमा प्रविधीको प्रयोग गर्ने हो भने आर्थिक रुपमा प्रसस्तै लाभ लिन सकिनेछ । ’

नेपालमा राम्रो बजारको सम्भावना भएको च्याउ खेती विशेषत ः उचो ठाउँमा गरिदै आइएको पाइन्छ । तर गोब्रे च्याउका विषयमा विशेष दख्खल राख्ने प्राविधिक चौलागाईं प्रविधिको प्रयोग गर्ने हो भने पहाढ तराई जहाँ पनि च्याउ खेती सफल हुने बताउँछन् । ‘पहाड अथवा उचाई भएको ठाउँमा मात्र च्याउ खेती हुन्छ, अन्यत्र हुदैन भन्ने सोचाई भएका कृषक साथीहरु धेरै पाएको छ ।’ उनी भन्छन्, ‘अत्याधुनिक प्रविधिको प्रयोग गर्ने हो भने जहाँ पनि यसको खेती गरी व्यवसायिक रुपमा लाभ लिन सकिन्छ । ’ उनका अनुसार च्याउ खेतीका लागि विद्युत र सडकको भने सुविधा हुनुपर्छ ।

उनी कार्यरत इन्द्रणी मसरुम फर्ममा च्याउ खेतीको प्रविधि अध्ययन अवलोकनका लागि अहिले दैनिक जसो मानिसहरु आइरहेका छन् । ‘नेपालमै अत्याधुनिक प्रविधिबाट गरिएको च्याउ खेती कस्तो हुदो रहेछ भनेर बुझ्नका लागि दैनिक जसो अवलोकनकर्ता आइरहेका छन् ।’ उनी भन्छन्,‘च्याउ खेतीका लागि हाम्रो फर्म स्रोत केन्द्रकै रुपमा विकास हुन थालेकोमा खुशी लागेको छ ।’

यो फर्ममा प्रयोग गरिएको प्रविधी भारतको सोलान भन्ने ठाउँबाट ल्याइएकाले यो भन्दा पनि उच्च प्रविधी भित्राउन फर्म लागिपरेको चौलागाईं बताउँछन् । उनका अनुसार अब छिट्टै नै नेदरल्याण्डको प्रविधी विकास गरेर अझ गुणस्तरिय र धेरै च्याउ उत्पादन गर्ने तयारी भइरहेको छ । ‘नेपालमा नेदरल्याण्डको प्रविधी प्रयोग गरी पहिलो पटक च्याउ उत्पादन गर्ने फर्मका रुपमा चिनाउने लक्ष्यमा हामी लागिपरेका छौं ।’ उनी भन्छन्,‘ परम्परागत तरिका छाडेर अब आधुनिक तरिका कृषिमा प्रयोग नगर्ने हो भने प्रशस्त लाभ लिन सकिन्न । ’ नेपालका विभिन्न ठाउँमा च्याउ खेती चाहानेलाई आफूले सहजीकरण गरिदिने समेत उनी बताउँछन् । ‘ च्याउ सर्व गुणसम्पन्न तरकारी भएकाले यसको खेती गर्न चाहानेलाई म सहयोग गर्न तयार छु । ’ उनी भन्छन्, ‘यति सिक्नका लागि मैले विदेशमा ६ वर्ष दुःख गरे, अब सिक्न चाहानेलाई म सहजीकरण गर्नेछु । ’

कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का गाउँका कृषक तपराज भट्टले गरेको गोब्रे च्याउखेती बिक्रीका लागि टिप्दै । तस्बिर : सिद्धराज भट्ट, कैलाली, रासस

नेपालमा अहिले गोब्रे, कन्ये र सिताके लगायत च्याउ खेती हुदै आएकोमा सबै ठाउँमा अत्याधुनिक प्रविधि प्रयोग नगरिएकाले कृषकले सोचेजति लाभ लिन नसकेको उनको अनुभव छ । लगानी गरिसकेपछि अत्याधुनिक प्रविधीबाट च्याउ खेतीमा लाग्नका लागि उनको सुझाव छ । भन्छन्,‘आखिर लगानी गरेर राम्रै कमाई गर्ने हो भने आधुनिक प्रविधी प्रयोग गर्नैपर्छ । ’

चौलागाईं वैदेशिक रोजगारीका क्रममा कतारमा रहँदा शिकेको शिपलाई नेपालमा आएर चित्लाङ्को इन्द्रणी मसरुम फर्मबाट प्रयोग गर्न पाँउदा जति आत्म सन्तुष्टि मिलेको छ त्यति नै खुशी आफूले सिकेको शिप अरुलाई सिकाउँदा पनि मिल्ने बताउँछन् । आफू च्याउ क्षेत्रमै आगामी दिनमा निरन्तर लागिपर्ने उनको चाहना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*