रामकृष्णका अक्षरमा मूर्तिकलाको इतिहास

तु खबर संवाददाता
२०७४ माघ २, मंगलवार १५:०८

– गौतमबुद्ध वज्राचार्य

काठमाडौँ, २ माघ । मूर्तिकार रामकृष्ण भण्डारीको ‘अक्षरमा मूर्तिकला’ शीर्षक संस्मरणात्मक पुस्तकले मूर्ति बनाउँदाका कथाव्यथा समेटेको छ ।
कला क्षेत्रमा जीवनभर लागेका थोरै कलाकारले मात्र आफ्नो कला क्षेत्रमा भएका अनुभव तथा उतारचढाव अक्षरमा व्यक्त गरेका छन् । यसमा रामकृष्ण अपवाद देखिनुभएको छ । ‘अभ्यास र सीप’, ‘सिर्जना र अनुभूति’, ‘मूर्ति र विचार’ तथा ‘कार्यशाला एवं प्रदर्शनी’ गरी विभिन्नखण्डमा विभाजित अक्षरमा मूर्तिकलामा उदीयमान मूर्तिकारका लागि उपयोगी हुने ६८ लामाछोटा लेखको संग्रह छापिएको छ ।

उहाँका हजुरबा यकबहादुर भण्डारी र पिता कुलमानसिंह चित्रकलाका ज्ञाता र नामी थिए । शोषितपीडित जनताका पक्षमा चित्र कोर्ने कलाकार कुलमानसिंहका छोरा रामकृष्ण छ वर्षको उमेरदेखि नै पिताले कोरेको चित्रमा रुचि राख्ने गर्नुहुन्थ्यो र आफू पनि बुवासँगसँगै चित्र कोर्न अभ्यास गरिरहनुहुन्थ्यो । सर्वप्रथम २०३५ सालमा कलाकार रामानन्द जोशीकहाँ कला सिक्ने अवसर पाउनुभएका रामकृष्णले ढुंगाको मूर्ति बनाउने कलाचाहिँ मूर्तिकार प्रेम शाक्यसँग सिक्ने अवसर पाउनुभएको थियो ।

पिताले काम गर्ने घरेलु हस्तकला प्रवद्र्धन शाखामा एक दशकभन्दा बढी समय ज्यालादारीमा मूर्ति बनाउने काम पनि उहाँले पाउनुभयो । बुबाकै निर्देशनमा रामकृष्णले शालिक बनाउन शुरु गर्नुभयो । विसं २०४७ मा शहीद स्मारक समिति कीर्तिपुरका तर्फबाट पहिलो शालिक बनाउने अवसर उहाँले पाउनुभयो । मूर्ति निर्माण गरिसकेपछि विसं २०४९ मा उक्त शालिक घरबाट लैजाँदा उहाँलाई बाजागाजाका साथ सम्मान गरी कीर्तिपुर पु¥याइएको थियो । त्यसपछि उहाँले २०५० सालमा बुटवलका लागि मदन भण्डारी र जीवराज आश्रितको शालिक, विसं २०५१ मा म्हैपीका लागि साहित्यकार पारिजातको शालिक, रामेछापका लागि विसं २०५८ मा गंगालाल–पुष्पलाल–कृष्णलालको शालिक बनाउनुभयो ।

मूर्तिकार रामकृष्णले २५४८औँ बुद्ध जयन्तीको अवसर पारेर विश्व शान्तिका दूत गौतम बुद्धको मूर्ति बनाउनुभयो । त्यस्तै मच्छेगाउँमा बुद्ध निर्माण समितिका अध्यक्ष बुद्ध महर्जनको अगुवाइमा पाँच महिना लगाएर उहाँले बुद्धको मूर्ति बनाउनुभएको थियो । नेपालको सशस्त्र द्वन्द्वमा धेरै मानिसको मृत्यु भएको सम्झनामा शान्तिको कामना गर्दै पाँच फुट अग्लो ढुंगामा बुद्धको मूर्ति बनाउने योजना रहेको कलाकार भण्डारीले आफ्नो पुस्तकमा व्यक्त गर्नुभएको छ ।

उहाँले अहिलेसम्म सरस्वती, गणेश, भगवती, काली, राधाकृष्ण, नारायण, लक्ष्मी, बूढानीलकण्ठ, महादेव, ऋषि, मायादेवी, कुमार, मण्डल, सूर्य, चन्द्र, साइबाबा तथा शिरडीबाबा इत्यादिको मूर्ति बनाइसक्नुभएको छ । त्यस्तै मातातीर्थमा आमाको मूर्ति, नेपाल संवत् ११३१ को अवसर पारेर पाँच फिट अग्लो शंखधर साख्वाको शालिक तथा २०६२ मा कलाकार अरनिकोको मूर्ति बनाउनुभएको थियो ।

मूर्तिकार भण्डारीले सामान्य जनताका शालिकदेखि मागअनुसार देवीदेवताको धेरै मूर्ति बनाएको आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ । उहाँले बनाएको बाघभैरवको मूर्ति अमेरिकाको कोलोराडोमा राखिएको छ ।

नेपालका नदीनालामा चेप्टा, बाटुला, लाम्चा, बदामी विभिन्न प्रकारका ढुगा पाइन्छ । उत्तरबाट कालीगण्डकी र त्रिशूली नदीले बगाएर ल्याएका ढुंगा मात्र होइन चितवनको देवघाट क्षेत्रमा पनि प्रशस्त ढुंगा पाइन्छ, जुन मूर्तिकारका लागि आकर्षणको विषय हो । शालिग्रामसहित रंगीविरंगी ढुंगाका टुक्रा जताततै नदीको किनारमा छरपस्ट छरिएर रहेका छन् । तिनको सदुपयोग गर्नुपर्ने सुझाव उहाँले पुस्तकमा दिनुभएको छ ।
उहाँको अनुभव छ, ढुंगा खोज्नु गाह्रो काम हो । ढुंगा खोज्नका लागि खोला, पहरो, ढुंगा झिक्ने खानी र सुरुङ्गमा जानुपर्ने हुन्छ । आफूलाई चाहिएको आकारको ढुंगा मोल गरी किन्दा ठेकेदारले अत्यधिक रकम लिने गरेका छन् । कालो, नीलो, हरियोखालको ढुंगामा मूर्ति बनाउने चलन छ । यस्तो ढुंगा कीर्तिपुर र तीनथानातिर पाइन्छ । त्यस्तै मच्छेगाउँ, दक्षिणकालीको डुँडेचौरको ढुंगाखानी, हात्तीवन आदिमा रहेका ढुंगा पनि मूर्ति बनाउन प्रयोग हुन्छ ।

पुस्तकमा मूर्तिकार भण्डारी लेख्नुहुन्छ, “किराँतकाल, लिच्छविकाल, मल्लकालसहित विभिन्न युगमा राज्यले त्यसबेलाका मूर्तिकारलाई प्रोत्साहन दिएर मठ, मन्दिर र मूर्ति बनाउन लगाएका हुँदा अहिलेसम्म सो मूर्ति देख्न पाएका छौँ । त्यति पहिला राज्यले कलाबारेमा काम गरेको हुँदा सो क्षेत्रबाट अहिले महत्वपूर्ण कुरा पाएका छौँ ।”

गौतमबुद्धजस्ता राम्रा विचारक तथा महान् पुरुषको मूर्ति जति बनाए पनि पुग्दैन । सकेको जति बनाउँदा कुनै न कुनै बेलामा अवश्य बिक्री हुन्छ । बुद्धका मूर्ति अरु मूर्तिको दाँजोमा धेरै बिक्री हुने गरेको उहाँको अनुभव छ ।

पुस्तक पढेर नेपाली मूर्तिकलाको प्राचीन सभ्यता जान्न सकिन्छ । यसले नेपाली इतिहासलाई बाहिर ल्याउन मद्दत गर्नेमा दुईमत हुँदैन । मूर्तिकलाका क्षेत्रमा अभिरुचि राख्ने पाठकलाई मात्र होइन, भर्खरै मूर्तिकलाको क्षेत्रमा प्रवेश गर्ने जिज्ञासु कलाकारका लागि पनि कृति उपयोगी देखिन्छ ।-(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*