भारतीय जेलमा नेपालीको खोजी

तु खबर संवाददाता
२०७४ माघ २, मंगलवार १२:१७

नयाँदिल्ली, २ माघ । भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ । दूतावासले भारतीय जेलमा रहेका नेपालीको प्रारम्भिक तथ्यांक संकलन गर्ने कार्य सुरु गरेको कार्यवाहक राजदूत भरतकुमार रेग्मीले जानकारी दिएको समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित गरिएको छ ।

दूतावासले एक महिनाअघि भारतका केही संस्थासँग मिलेर तथ्यांक संकलन थालेको थियो । ‘भारतमा विभिन्न आरोपमा जेलजीवन बिताउन बाध्य नेपालीको उद्धारका लागि पहिलो चरणमा तथ्यांक संकलन गर्ने कार्य सुरु गरेका छौं। तीन÷चार महिनाभित्र यो कार्य सकिने अनुमान छ’, रेग्मीले भने।

‘तथ्यांक संकलनपछि उनीहरूको उद्धारका लागि भारतको केन्द्र सरकार तथा राज्य सरकारहरूसँग पहल गर्ने प्रक्रिया सुरु गर्न सक्छौं’, उनले थपे। हिमाञ्चल प्रदेशको नाहान जेलमा १४ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका एक नेपालीको उद्धारमा जाँदा त्यहाँ ३४ जना नेपाली रहेको जानकारी पाइयो।

त्यसलाई ध्यानमा राख्दै जेलमा रहेका नेपालीको उद्धारको पहल गर्ने क्रममा अध्ययन थालेको रेग्मीले जानकारी दिए। दूतावासका अनुसार पछिल्लो चार वर्षमा भारतका जेलबाट ७३ जना नेपालीको उद्धार गरिएको छ। तीमध्ये ४८ जनाको हिमाञ्चल प्रदेशको जेलबाट उद्धार गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*