माईखोलामा मेला शुरू, भारतबाट पनि मेला भर्नेको घुँईचो

तु खबर संवाददाता
२०७४ माघ २, मंगलवार ११:३८

इलाम, २ माघ । माघे सङ्क्रान्तिको अवसरमा इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा सोमबारदेखि माईबेनी मेला शुरू भएको छ । तीन दिनसम्म लाग्ने मेलामा मकर नुहाउने र मेला भर्न आउनेको घुइँचो लागेको छ । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण माईबेनी मेलामा मकर नुहाउन आउने गरेका छन् ।

यहाँ मकर स्नान गर्न छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ तथा सीमावर्ती भारतको दार्जिलिङ, सिक्किम, मिरिकबाट हजारौँ सर्वसाधारण एक सातादेखिनै माईबेनी आइपुगेका छन् । इलाम जिल्लाको नामसालिङ र गोदकबीचमा पर्ने माईबेनीमा लाग्ने यो मेला वर्षौं अघिदेखि लाग्दैआएको छ । माईबेनीबाट इलामबजारतर्पm फर्कँदा दुई घण्टाको पैदल हिँडेर बेनीमार्गबाट राईगाउँ, तिल्केनी हुँदै इलाम बजार आउन सकिन्छ भने माईबेनीसम्म ट्याक्सीको सुविधा पनि छ ।

मकर सङ्क्रान्तिका दिन पवित्र नदीमा गएर मकर स्नान गर्ने हिन्दूहरूको धार्मिक प्रचलन भए पनि माईबेनीमा संस्थागत रूपमा मेला लगाउने कार्य बडाहाकिम गजराजसिंह थापाको पालादेखि शुरू भएको कुरा इलामका अग्रज भीष्म वैद्य बताउनुहुन्छ ।

वडाहाकिम थापाकी पत्नी बदनकुमारी धर्मकर्मप्रति आस्थावान् भएकी हुनाले काठमाडौँमा माघे सङ्क्रान्तिका बेलामा मकर नुहाउने गर्दथिन् । मकर नुहाउने चलन भएको समाजमा हुर्किएकी रानी बदनकुमारीले यहाँ माघे सङ्क्रान्तिका दिन मकर नुहाउन नपाइने भइयो भनी बडाहाकिमसँग विस्मात गरेकी हुनाले बडाहाकिमले आफ्नी पत्नीलाई यहाँ पनि त्रिवेणी छ, नुहाउँदा भइहाल्छ नि, नुहाउँछौ भने म धुमधामसँग मेला लगाइदिन्छु भनेपछि रानीको इच्छानुसार विसं १९२०÷२१ देखि संस्थागत रूपमा मेला लगाउने शुरुवात भएको बताइन्छ ।

थापाले मेला लगाउने निश्चय गरेपछि जिल्लाभरिका थरी मुखियामा आफ्नो सातुसामल लिई मेला भर्न आउनु भन्ने पुर्जी काटियो । अनि गाउँघर तथा टाढा टाढाका सर्वसाधारण पनि आफ्नो गाउँघरबाट बाजागाजा समेत लिएर मेला भर्न आउन थालेका हुन् ।

पहिले–पहिले ताप्लेजुङदेखि राडीपाखी, राम्रा राम्रा गलैँचा लिएर व्यापार गर्न आउँथे, मेलाबाट फर्कँदा भोटेघोडा बिक्री गरेर जाने गरेको अग्रज पत्रकार धर्म गौतमको भनाइ छ ।

भारतको दार्जिलिङ, सिक्किम, आसाम र आसपासका मानिस पनि माईबेनीमा मेला भर्न, मकर नुहाउन र माइखोलामा माई भगवतीको पूजाअर्चना गर्न आउने गरेको र हाल पनि यो क्रम चलिरहेको छ । विगतमा माईबेनी मेला एक महिनासम्म चल्दथ्यो, पछि घट्दै गएर १५ दिन, सात दिन हँुदै अहिले तीन दिनसम्म मेला लाग्छ ।

तत्कालीन समयमा इलाम नगरपालिका तिल्केनी निवासी लोकनाथ दाहाल, पूर्वमन्त्री नरेन्द्रनाथ बाँस्तोला र सिंङफ्रिङ निवासी रघुवीर बुढाथोकी समेतको सक्रियतामा विसं २००१ मा यहाँ शिवालय मन्दिर निर्माण गरिएको बताइएको छ ।

माईबेनी मेलामा राडीपाखी, गलैँचा, लुगाफाटा, भाडावर्तन, श्रृंगारका सामान, उखु, सुन्तला, तरूलको अत्यधिक बिक्री हुने गरेको छ । मेलास्थलमा सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी टोली खटाएको छ । – (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*