पाँच घरमा आगलागी हुँदा रु १७ लाखको क्षति

तु खबर संवाददाता
२०७४ माघ २, मंगलवार १०:५१
Photo File मकवानपुरको भीमफेदी गाउँपालिका, जुरिखेतबाट लिइएको तस्बिर ।

गाईघाट, उदयपुर, २ माघ । उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केकटाकेटीले आगो बाल्ने र खेल्ने गरेपछि घरको खरको छानो सल्केर आगलागी शुरु भएको थियो । विकको घरबाट शुरु भएको आगो अन्य पाँचघरमा पनि सल्केपछि ती घर आगालागीबाट जलेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

आगलागीबाट ६५ वर्षीय रण बहादुर विकको रु तीन लाख २० हजार बराबरको अन्न तथा लत्ताकपडा नष्ट भएको थियो भने अर्का छिमेकी ७० वर्षीय कर्णबहादुर विकको पनि तीनलाख २० हजार क्षति भएको प्रहरीले बताएको छ ।

यस्तै, स्थानीय ३५ वर्षीय मेघबहादुर विकको रु तीन लाख ६० हजार, अर्का स्थानीय पर्शुराम विकको रु तीन लाख ७० हजार र चक्रबहादुर विकको तीन लाख ७० हजार बराबरको लत्ताकपडा अन्न नगदसमेत क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

आगलागी बढ्दै जान थालेपछि पाँच किलोमिटर दूरीमा रहेको प्रहरी चौकी, भुटारबाट प्रहरीको टोली पुगेर स्थानीयको समेत सहयोगमा झण्डै डेढ घण्टापछि आगलागी नियन्त्रण भएको पनि प्रहरीले बताएको छ । – (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*