कैलाश सिरोहियाले ब्ल्याकमेलिङ गरेको भन्दै व्यवसायी सुमार्गीद्वारा संघर्षको घोषणा(सुमार्गीले जारी गरेको विज्ञप्तीसमेत )
काठमाडौं । नेपालको चर्चित पत्रिका कान्तिपुर प्रकाशन प्रा.लिका अध्यक्ष तथा सञ्चार उद्यमी कैलाश सिरोहियामाथि सञ्चार माध्यमको दुरुपयोग गरेर ब्लाकमेलिङ गरेको आरोप लागेको छ ।
मकवानपुरका सञ्चार उद्यमी तथा मुक्तिश्री प्रा.लिका अध्यक्ष अजेयराज सुमार्गीले सोमबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरेर कान्तिपुरका प्रबन्ध निर्देशक सिरोहिया ब्लाकमेलर भएको आरोप लगाए । उनले पटक पटक सिरोहियाको धन्दा ब्लाकमेलिङ भएको दावी गर्दै आफूमाथि समेत ब्लाकमेलिङको प्रयास गरिरहेको दावी गरे । सिरोहियाले भनेको नमानेकै कारण आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले कान्तिपुर दैनिकमा निरन्तर आफूविरुद्धमा ‘कालोधन सम्बन्धी’ समाचार प्रकाशित गरेको आरोप सुमार्गीले लगाएका छन् ।

सुमार्गीले तीन पृष्ठ लामो लिखित बक्तव्यमार्फत सुमार्गीले २०७० सालमा कान्तिपुरका प्रबन्ध निर्देशक सिरोहियासँग तीनकुनेमा रहेको जग्गा खरिद गरेर सहयोग गरेको तर हाल आएर उक्त जग्गा सोही मूल्यमा फिर्ता माग्दा आफूले नदिएकै कारण समाचारको बिषयवस्तु बनाइएको बताए । विदेशबाट नेपालमा लगानी भित्राउन सक्रिय रहेको समार्गीले तूखवरसँगको कुराकानीको क्रममा भने, ‘२०७० सालमा सिरोहिया र म बीचमा जग्गाको कारोबार भएको केही समयलगत्तैदेखि आफूलाई उक्त जग्गा पुरानै मूल्यमा फिर्ता माग्दै ब्लाकमेलिङ गर्ने काम भयो । २०७१ साल असोज २६ गते नेपाल साप्ताहिकमा एउटा समाचार प्रकाशित गरेर सुरु भएको ब्लाकमेलिङ आज यो अवस्थामा आईपुगेको छ । मैले सिरोहियासँग राजीखुशीसँग किनेको जग्गा सिरोहियाको कुनै पनि प्रकारको धम्कीका कारण फिर्ता गर्नेछैन । बरु उहाँको ब्लाकमेलिङ धन्दाका विरुद्धमा लड्नेछु ।’ सुमार्गीले थपे, ‘हिजो मैले त्यही पैसाले कान्तिपुरका सिरोहियाको जग्गा किन्दा ह्वाईट हुने र आज उनले भनेकै मूल्यमा जग्गा फिर्ता नगर्दा कालोधन हुने उहाँको यो कुन प्रकारको समाचार हो, आज जनताले आफै फैसला गर्नेछन् ।’

सुमार्गीले कान्तिपुरका सिरोहियाले आफूमाथि ब्लाकमेलिङ गरेको दावी गर्दै काठमाडौं जिल्ला अदालतमा २५ करोड क्षतिपूर्तिको मागदावी सहित मुद्दा दायर भएको जानकारी दिँदै कान्तिपुरबाट पीडित भएका, ब्लाकमेलिङमा परेका उद्यमी व्यवसायीहरुलाई एकजुट हुन आग्रह समेत गरेका छन् ।
सिरोहियाले उद्योगी व्यवसायीसँग ‘गोल्डेन सेयर’ मागेर मिडियाको दुरुपयोग गरेकाले सबै पीडित उद्योगी एक हुने समय आएको पनि उनले बताएका छन् । गोल्डेन सेयरबापत गुण्डाहरुले नजराना उठाए झै कान्तिपुरका मालिक सिरोहियाले सबैं उद्योगी व्यवसायीहरुसँग गोल्डेन सेयरको नजराना उठाउने गरेको समेत दावी गरेका छन् ।

उनले बक्तव्यमा भनेका छन्, ‘नेपालमा अहिले प्रचलित तर खासै चर्चामा नआएको आर्थिक पदावली छ, गोल्डेन सेयर । यो त्यस्तो सुनौलो सेयर हो, जुन कुनै पनि ठूलो व्यवसाय सञ्चालन गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केहि प्रतिशत नजराना वापत दिनुपर्छ, निज सिरोहियाले मसँग सेयरको सट्टा पुरानौ मोलमा जग्गा फिर्ता मागे म त्यसको विरुद्धमा उभिएको छु ।’
सुमार्गीको बक्तव्यको पुरा अंश यस्तो छ :
आदरणीय पत्रकार मित्रहरु,
कान्तिपुर मिडिया ग्रुपले म र म आबद्ध संस्थाहरुविरुद्ध नियोजित रुपमा भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्दै आएकोमा त्यसारेमा स्पष्ट गर्न आवश्यक ठानेर आज मैले यो पत्रकार सम्मेलन आयोजना गरेको हुँ ।
वि.सं. २०२९ सालदेखि मेरो परिवार व्यावसायिक गतिविधिमा संलग्न रहँदै आएको यहाँहरुलाई जानकारी नै छ । पछिल्लो एक दशकयता मैले मेरा व्यवसायहरु विस्तार गर्ने क्रममा वैदेशिक ऋण एवं लगानीलाई समेत आधार बनाएका थिएँ । विदेशबाट लगानी ल्याउने कुराले मुलुकको हित हुनेमा विवाद छैन् । चार वर्षअघि यही स्थानमा पत्रकार सम्मेलन गरेर मैले मेरा व्यवसाय र त्यसमा भइरहेको तथा हुने वैदेशिक ऋण एवम् लगानीबारे जानकारी गराएको स्मरण गराउन चाहन्छु ।
मैले सरकारका निकायबाट तत्कालीन प्रचलित कानूनबमोजिम वैदेशिक ऋण लगानी भित्रयाएको हुँ । सबै रकम बैंकिङ च्यानलबाट पारदर्शी ढङ्गले ल्याएको छु । ल्याएको र ल्याउने क्रममा वैदेशिक ऋण र लगानीबारे सम्बद्ध सरकारी निकायलाई तत्कालै जानकारी गराएको छु ।
विसं २०७० मा कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहिया र आफूबीच जग्गाको कारोवार भएको तथ्य यहाँहरुको जानकारीमा आईसकेको छ । जग्गा कारोबार भएको केही समय लगत्तै ‘सुमार्गीले अप्ठेरोमा पारेर सस्तोमा जग्गा हत्यायो’ भन्दै हिडेका उनी अहिले जग्गा फिर्ता लिन जुनसुकै हदसम्म अपराध गर्न उद्यत देखिएका छन् । जग्गा कारोवारको एक वर्षपछि उनले गाली बेईज्जती सुरु गरेको जगजाहेर नै छ । २६, असोज २०७१ मा कान्तिपुर अन्तर्गतको नेपाल साप्ताहिकमा मेरो बारेमा छापिएको पहिलो समाचार पहिलो प्रलापको दृष्टान्त हो, जहाँ मैले भित्राएको ऋण लगानी जफत हुने अवस्थामा पुगेको भनि लेखिएको छ । उक्त पत्रिकामा छापिएको सामग्री निराधार थियो, मलाई बद्नाम गर्ने एक मात्र उद्देश्यले निर्देशिक थियो ।
म सिरोहियाजीलाई भन्न चाहन्छु, उक्त जग्गाको खरिदबिक्री राजीखुसीमै भएको थियो । राज्यको प्रचलित कानुनबमोजिम नै थियो । दोस्रो कुरा, मैले तपाईंलाई अप्ठ्यारोमा पारेर जग्गा खरिद गरेको होइन, तपाईंको अनुनय विनय स्वीकारेको मात्र हुँ । त्यतिखेर तपाईंको परिस्थिति नै अप्ठ्यारो थियो । मैले उक्त जग्गा खरिद नगरेको खण्डमा तपाईं बैंकको ऋण चुकाउन नसकेर जेल जाने अवस्था थियो । त्यस्तो अप्ठ्यारो परिस्थितिमा लगाइदिएको गुन बिर्सेर, पुरानै मूल्यमा जग्गा फिर्ता मागी तपाईंले कृतघ्नताको हद नाघ्नुभएको छ । अहिले सञ्चार माध्यम जस्तो साधनलाई बदनामीको हतियार बनाउँदै निन्दनीय काम गर्नुभएको छ ।
यो ‘ब्ल्याकमेलिङ’ नै हो । यसबारे मैले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइसकेको छु भने सम्मानित काठमाडौं जिल्ला अदालतमा २५ करोड रुपैयाँ क्षतिपूर्तिको दाबीसहित मुद्दा दायर गरिसकेको छु । मेरो बारेमा पटक पटक सामग्री प्रकाशन÷प्रसारण गर्दासमेत मसँग एक पटक पनि प्रतिक्रिया लिने चेष्टा गरिएन, जुन विषय पत्रकारिताको सामान्य सिद्धान्तविपरीत छ । यसमा कान्तिपुरले जे गरे पनि हुन्छ भन्ने घमण्ड प्रतिविम्बित भएको छ । मैले पठाएको खण्डनलाई समेत उक्त अखबारमा अपांग पारी छापिएको छ । यसबाट सिरोहियाको कपटपूर्ण उद्देश्य पूर्तिका लागि त्यसका प्रधानसम्पादकसमेत संलग्न भएका छन् ।
नेपालको संविधानले व्यक्तिको सम्पत्तिको हकलाई सुनिश्चित गर्दै कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार तथा चरित्रसम्बन्धी विषयको गोपनीयता अनतिक्रम्य हुने गरी सुनिश्चित गरेको छ । मेरा व्यक्तिगत जीवन र कारोबारहरूविरुद्ध झूठा लाञ्छना लगाई कपोलकल्पित रूपमा प्रकाशन तथा प्रशारण गरी मेरो संविधानप्रदत्त मौलिक हकमा समेत आघात पु¥याउने कुचेष्टा गरेको स्पष्टै छ ।
सरकारी प्रक्रियामा रहेको मेरो वैदेशिक ऋण तथा लगानीसम्बन्धी विषयलाई ‘शंका, आशंका, सम्भावना, हुन सक्ने’ जस्ता शब्दको सहारामा नेपाल साप्ताहिक, कान्तिपुर नेपाली दैनिक, द काठमान्डु पोस्ट अंग्रेजी दैनिक, कान्तिपुर टिभी र रेडियो कान्तिपुरका बुलेटिनहरूमा दर्जनौं पटक र द काठ्मान्डु पोस्ट सदस्य रहेको एसिया न्युज नेटवर्कको वेबसाइटमा समेत शीर्षक परिवर्तन गरी गरी भ्रम छर्ने गरेको देखिएको छ । एसिया न्युज नेटवर्क त्यस्तो संस्था हो, जसले लगानीकर्ताहरूलाई एसिया क्षेत्रमा लगानीको अवसर र सम्भाव्यताबारे जानकारी दिने उद्देश्य राख्दछ । कान्तिपुर मिडिया ग्रुपले आफू सदस्य रहेको त्यस्तो संस्थालाई समेत गुमराहमा राखेको छ । मेरा व्यावसायिक फर्ममार्फत नेपालमा लगानी गर्न इच्छुक अन्तर्रा्िष्ट्रय लगानीकर्ताहरूलाई समेत निरुत्साहित गर्ने प्रयत्न गरेको देखिन्छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जुन गोप्य अनुसन्धान प्रतिवेदनको हवाला दिँदै कान्तिपुरले दिएको समाचारप्रति मेरो शंका छ ।‘अवैध धन, कालो धन्दा, कालो धन’ जस्ता शब्दको सहारामा राष्ट्रसेवक कर्मचारीहरू समेतलाई अफवाहमार्फत दबाब पैदा गर्ने उसको नियत देखिन्छ । ‘विदेशबाट आउने त्यस्तो लगानी आतंककारी क्रियाकलापमा प्रयोग हुन सक्ने’ भन्नेजस्ता निराधार टिप्पणी संप्रेषण गर्ने प्रकाशक÷सम्पादकलाई म प्रश्न गर्न चाहन्छु, के सिमेन्ट कम्पनी, हाइड्रो, दूरसञ्चार आदिमा लगानी गर्नु आतंककारी क्रियाकलापलाई प्रोत्साहन गर्नु हो ? वा, नेपालमा ठूलो परिमाणमा रोजगारी सिर्जना गर्नु आतंककारी क्रियाकलाप हो ?
निज कैलाश सिरोहियाले आफ्नो सञ्चार माध्यमको दुरुपयोग गरेर मेरो सामाजिक प्रतिष्ठामा गम्भीर आघात पु¥याएका छन् । नियोजित रूपमा गरिएको यस्तो प्रहारबाट मेरो सम्झौता भइसकेको वैदेशिक ऋण लगानी प्रभावित हुन सक्ने र थप लगानीसमेत प्रतिकूल असर पर्नसक्ने देखिन्छ । मेरा आयोजनाहरूमा पर्याप्त लगानी नपुगेर पूर्णता नपाउने वा उत्पादनमा ह्रास हुने अवस्था आएको छ । सरकारी निकायहरूमा नकारात्मक सन्देश प्रवाहित भएर मेरो कामकारबाही प्रभावित हुन सक्ने अवस्थासमेत सिर्जना भएको छ ।
कान्तिपुर मिडिया ग्रुपको निरन्तरको बदनियतपूर्ण सामग्रीबारे मैले मौनता भंग गरेपछि निज कैलाश सिरोहिया अनेकन संस्थाहरूलाई गुमराहमा पारेर ती संस्थाहरूलाई आफ्नो सुरक्षा कवचको रूपमा प्रयोग गर्न÷गराउन उद्यत देखिएका छन् । त्यसक्रममा, कान्तिपुर ब्ल्याकमेलिङ प्रकरण अदालतमा पुगेपछि नेपाल मिडिया सोसाइटीले जारी गरेको विज्ञप्तिप्रति मेरो ध्यानाकर्षण भएको छ । यो ब्ल्याकमेलिङ प्रकरणमा निज सिरोहिया नेपाल मिडिया सोसाइटीका सदस्यहरूलाई भ्रममा पार्न एक हदसम्म सफल देखिएका छन् । एक सञ्चार उद्यमीसमेतको नाताले म नेपाल मिडिया सोसाइटीसामु जिज्ञासा राख्न चाहन्छु, एउटा सञ्चार माध्यमको दुरुपयोग गरेर कुनै सञ्चार उद्यमी ब्ल्याकमेलिङ गर्ने तहमा झर्छ भने मिडिया सोसाइटीले त्यसको जिम्मा लिन कसरी मिल्छ ? के सोसाइटीको कुनै एक सदस्यले निजी जीवनमा गर्ने आपराधिक कार्यको जिम्मा लिनु विवेकसम्मत हुन्छ ? म यो ब्ल्याकमेलिङ प्रकरणबारे गम्भीरताका साथ सोच्न मिडिया सोसाइटीका आदरणीय सदस्यहरूलाई आग्रह गर्दछु ।
कान्तिपुरको बदनियत १०, पुस ०७४ मा प्रकाशित सम्पादकीयमा स्पष्ट झल्किएको छ । उक्त रकमका बारेमा कान्तिपुर लेख्छ, ‘तीन वर्षसम्म पनि निष्कर्षमा पुग्न नसक्नु कतै सुमार्गीलाई सफाइ दिने प्रपञ्च त होइन ?’ उक्त सम्पादकीयमा ‘कान्तिपुरले अपराधी करार गरेपछि भइहाल्यो नि, किन उनलाई कारबाही नगरेको’ भन्ने दुराशय झल्कन्छ । दुई सातायता कान्तिपुरले आफ्ना सम्पूर्ण समाचारमध्ये सबैभन्दा धेरै शब्द मेराविरुद्ध खर्च गर्नुले पनि कान्तिपुर र निज सिरोहियाको बदनियत प्रष्ट पार्दछ ।
नेपालमा अहिले प्रचलित तर खासै चर्चामा नआएको आर्थिक पदावली छ, गोल्डेन शेयर । यो त्यस्तो सुनौलो शेयर हो, जुन कुनै पनि ठूलो व्यवसाय सञ्चालन गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजरानावापत दिनुपर्दछ । निज सिरोहियाले मसँग सेयरको सट्टा पुरानै मोलमा जग्गा फिर्ता मागे । निज सिरोहियाको कोपभाजनमा परेका कतिपय व्यावसायिक प्रतिष्ठानहरू अहिले तैँ चुप मै चुपको अवस्थामा छन् किनभने कान्तिपुरले उनीहरूमाथि पनि अपराध गर्न सक्छ ।
सत्यतथ्य समाचार पस्कने दायित्व बोकेको सञ्चारगृह अर्काको सम्पत्तिमा गिद्देदृष्टि लगाउँदै बदनियतपूर्ण समाचार प्रकाशन तथा प्रसारण गरी अपराध कर्ममा सामेल भएको त छ नै, साथै सत्यतथ्य समाचारका हकदार पाठकहरूलाई विश्वासघातसमेत गरेको छ ।
सानै उमेरबाट अनेक हण्डर–ठक्कर खाँदै यहाँसम्म आइपुगेको मेरो जीवनमा कान्तिपुर ब्ल्याकमेलिङ प्रकरणले केही दिन, केही महिना भ्रम छरे पनि केही वर्षपछि ठूलो अर्थ राख्ने छैन । किनभने सत्यका अघि झूट धेरै समय टिक्दैन, टिक्नै सक्दैन भन्ने मेरो विश्वास छ । यो ब्ल्याकमेलिङ प्रकरण नेपाली पत्रकारिता जगतको कालो धब्बाको रूपमा ५०औँ वर्षसम्म रहिरहनेछ ।
अन्त्यमा, मविरुद्ध आइरहेका सिलसिलेवार मनगढन्ते कथा कहानीहरूबाट कति पनि भ्रममा नपर्न म सबैमा अपिल गर्दछु । सञ्चार माध्यमको दुरूपयोग गरी ब्ल्याकमेलिङ गर्ने ती प्रलापहरूबाट अविचलित रहन सरोकारवालाहरूमा पनि आग्रह गर्दछु । राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने मेरो प्रयासमा यस्ता प्रहारहरूले रत्तिभर फरक पर्ने छैन । मेरा कुनै कामकारबाही गलत र गैरकानुनी छैनन् । प्रचलित कानुनको कसीमा घोटिन म हरदम तयार छु ।
अजेयराज सुमार्गी
अध्यक्ष
मुक्तिश्री प्रा.लि.
२०७४।१०।०१
