थाहानगरका सर्वसाधारण भन्छन् –‘बसको हुटमा यात्रा गर्दा ज्यानै जाने डर भो’

तु खबर संवाददाता
२०७४ माघ १, सोमबार ०९:४१

–बलराम पुडासैनी
मकवानपुर, १ माघ । आजभोलि माघे संक्रान्ति तथा सोनाम ल्होछार पर्वको कारण मानिसहरु आफ्ना आफन्त र घरपरिवारसंग भेटघाटको लागि आवतजावत गर्ने क्रम बाक्लिएको छ । यात्रु बढेको माहोलका कारण सवारी चाप पनि बढ्ने गरेको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका जाने सवारी साधनमा देखिएको चाप त झन् थामिनसक्नु छ ।

मकवानपुरको हेटौंडाबाट दामन पालुङ चित्लाङ लगाएतका स्थानमा जाने सवारीसाधनहरुमा सवारीसाधनको भारवहन क्षमता भन्दा बढी सवारी यात्रुहरु जवरस्ती सवार गरीरहेका छन् । उच्च पहाडी भेगको निकै साघुँरो बाटो त्यसमाथि पनि सवारी साधनको क्षमता भन्दा बढी यात्रु सवार भएका कारण यात्रा निकैनै कष्टकर र जोखिम बनिरहेको यात्रुहरुको प्रतिक्रिया छ ।

बसमा सवार गर्ने यात्रुहरु भन्छन् –‘नचढेपनि हुन्न घर जानुनै छ । पर्याप्त मात्रामा सवारी साधन संचालन नभएकोले यस्तो समस्या छ । जोखिम मोलेरै भएपनि हिडेका छौं ।’ त्यसोत अन्य समयमा पनि सवारी यात्रा भने मकवानपुरको थाहानगरमा जोखिम नै हुने गरेको यात्रुहरु सुनाउँछन् ।

मकवानपुरको पर्यटन प्रबद्र्धनको केन्द्रबिन्दुको रुपमा रहेको थाहानगरसम्म पुग्ने बाटो त छ तर जोखिम पनि उत्तिकै छ । अझ पर्याप्त मात्रमा सवारी साधन नचल्दा बसको हुटमा बसेर यात्रा गर्न र बसभित्रै पनि कोचाकोच भएर यात्रु गर्नुपर्ने बाध्यता छ । साघुँरो बाटो , बिग्रेको बाटो समयमा मर्मत नहुनु साथै बाटोको छेउछेउमा रोडबारको निर्माण नहुनुले सवारी चालकहरुको समेत सातो जाने स्थिति छ ।

हेटौंडा ५ का सुरज बर्नवाल भन्छन् –‘थाहा नगर भ्रमण गर्न जाँदा बाटोको अवस्था निकै डरलाग्दो देखियो । फेरि घुम्न जाने मन छ तर बाटो सम्झँदा आङै सिरिङ्ग हुन्छ ।’

यात्रुहरुलाई सवार गर्नैपर्ने बाध्यता र सवारी धनीहरुलाई पैसा कमाउने यो महत्वपुर्ण समय रहेको भन्दै थाहानगरकी एक संचारकर्मीले सामाजिक संजाल मार्फत सवारी जोखिमको अवस्थाबारे स्टाटस सार्वजनिक समेत गरेकी छिन् ।

सवारी साधनको हुटमा बसेर लामो दुरीको यात्रा कत्तिको सहज र सुरक्षित होला ? यस बारेमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन भने सर्वसाधारणहरु मरिन्छ कि बाँचिन्छ भन्ने दोधारमा यात्रा गर्न विवश छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*